सूचीकृत नै नभएको बीउ बेच्दै हेटौंडाका बीज भण्डार
हेटौँडा, १७ बैशाख । हेटौंडाको मेनरोडमा रहेको विकास बीज भण्डार र सन्तोष एण्ड सन्देश बीज भण्डारले सरकारले सूचीकृत नगरेको बीउ विक्री गरेको पाइएको छ । साथै यी बिज भण्डारले मिती समेत नाघेको बीउ विक्री गर्दै आइरहेको खुलासा भएको छ ।
हेटौंडा ९ का झलकबहादुर रोकायाले गत फागुन १० गते सो पसलबाट खरिद गरेको चैते धानको बीउ नेपालमा खेतीका लागि सूचिकृत नै नभएको पाइएको हो । रोकायाले चैते धानको बीउ भनेर किनेर लगेको ‘गोरखनाथ ५०९’ नामक धानको बीउ अवैध रहेको र म्याद समेत नाघिसकेको पाइएको हो । रोकायाले राखेको बीउ नउम्रिएपछि उनले जिल्ला कृषि विकास कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । उनको उजुरीपछि कृषि कार्यालयका प्राविधिक पुगेर गरेको निरिक्षणमा नेपालमा सिफारिस नै नभएको धानको बीउ भएको र समय नाघेको बीउ भएको प्राविधिकले रोकायालाई बताए ।
रोकायाले गरिद गरेको धानको बीउ नेपालमा सिफारिस नै नभएको र बीउको म्याद गुज्रिएको पाइएको भन्दै कृषि कार्यालय मकवानपुरले विकास बीज भण्डार र सन्तोष एण्ड सन्देश बीज भण्डारको नाममा २०७३ चैत २८ गते पत्राचार गर्दै आपसमा समझदारी गर्न भनेको थियो । कार्यालयले पठाएको पत्रमा भनिएको छ ‘ गोरखनाथ ५०९ नामक चैते सिजनको धानको बीउ नेपाल सरकारबाट सूचिकृत नभएको, विक्री गरिएको धानको बीउ नेपाल सरकारले तोकेको न्यूनतम गुणस्तर भन्दा कमसल भएको तथा बीउको प्याकेटमा उल्लेखित मिती समेत नाघेको उल्लेख छ ।’ कार्यालयले बिज भण्डारलाई पीडितलाई क्षतिपूर्ति दिई आपसमा सहमती गर्न भन्दै पत्राचार गरेको हो ।
तर कार्यालयको निर्देशन बिज भण्डारले अहिलेसम्म कार्यान्वयन गरेको छैन । पीडीत रोकायाले क्षतिपूर्ति नपाएको र खेत बाँझै भएको विषयमा कार्यालय प्रमुख निर्मल गदालसंग टेलिफोन सम्पर्क गर्दा यस विषयमा आफूलाई फोन नगर्न र बिज भण्डारसंग क्षतिपूर्ति लिन आग्रह गरेको बताएका छन् । कार्यालय प्रमुखले खेत बाँझो राखे उल्टै कारवाही हुने धम्की दिएको पीडितको गुनासो छ ।
कृषि कार्यालय मकवानपुरका प्रमुख गदालसंग तु खबरले यस विषयमा बुझ्दा अबैध धानको बीउ विक्री गर्ने दुवै बिज भण्डार र पीडित किसानलाई यही २१ गते २ बजे छलफलका लागि बोलाइएको जानकारी दिइयो ।
नेपालमा स्वीकृत नै नभएको धानको वीउ जथाभावी विक्री गरेर किसानमाथि अन्याय गर्नेलाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले माग गरेको छ । मञ्च अध्यक्ष बाशु खतिवडाले दोषीलाई कारवाही गरी पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरे । उपभोक्तामाथिको ठगी आफूलाई मान्य नभएको भन्दै उनले कृषि कार्यालयले कारवाही प्रकृया अघि नबढाए उपभोक्ता मञ्च कानूनी लडाईमा जाने चेतावनी दिए ।