जहाँ महिलाको नागरिकता छैन
-अञ्जली थापा
मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी गाबिसमा पर्ने २ वटा गाँउ जहाँ महिलाले नागरिकता प्राप्त गर्नु वा बनाउनुले खासै अर्थ राख्दैन । त्यसैले यहाँको बहुसंख्यक महिलाले नागरिका बनाएका छैनन् ।
मकवानपुरको भीमफेदी, ३ को उर्लाघारी र सोलाभञ्ज्याडका अधिकांश महिलाहरुले नागरिकता बनाएका छैनन । उर्लाघारीमा पिछडिएको चेपाङ समुदायको बाहुल्यता रहेको छ भने सोलाभञ्याङमा तामाङ र मगरको । यहाँ सबै पुरुषको नागरिकता छ र बनाईन्छ कारण हो बैदेशिक रोजगार । बैदेशिक रोजगारको लागि जान यहाँका पुरुषहरुको उमेर नपुगे पनि थपेर समेत नागरिकता बनाउने गरेको एक स्थानियले बताएका छन् । तर, यहि गाउँको महिलाहरुले भने अधिकांशले अहिलेसम्म नागरिकता बनाएका छैनन ।
शिक्षा र चेतनाको कमीको कारण महिलाहरुले नागरिकता पाउनु मौलिक अधिकार भनेर बुझेका छैनन् भने पुरुषहरुले पनि घर खेतको काम गर्न नागरिकता चाहिदैन भन्ने मानसिकता राख्छन् । भिमफेदी गाँऊपालिकाको तथ्यांक अनुसार, भिमफेदी—३ उर्लाघारी र भिमफेदी—५ सोलाभन्ज्याङको केही महिला बाहेक अरु कसैले नागरिकता बनाएका छैनन् । भिमफेदी—५ सोलाभञ्ज्याङमा ५५ घरधुरी र ३ सय ५० जनसंख्या छ भने भिमफेदी—३ उर्लाघारीमा ३० घरधुरी र १ सय ९० जनसंख्या रहेको छ । जसमध्ये महिलाको संख्या ९५ जना र सोलाभञ्ज्याङमा २ सय ५ जना रहेको गाउँ पालिका कार्यालय भिमफेदीले जनाएको छ । जनसंख्यालाई आधार मान्दा थोरै देखिए पनि यहाँको चेतनाको स्तरलाई सामान्यरुपमा हेर्न सकिन्न किनकी यहाँका स्थानीयले नागरिकता पाउनु र कानुनी अधिकार पाउनुलाई आफ्नो मौलिक अधिकार ठान्दैनन् उनीहरु नगरिकताको प्रयोग पुरुषहरु बिदेश जानको लागि मात्र हुन्छ भन्ने बुझ्दछन् ।
२०६०÷६१ सालमा उर्लाघारीको १८ जना र सोलाभञ्ज्याङको ४२ जनागरी जम्मा ६०जना महिलाले नागरिकता बनाएका थिए । यतिबेला पनि उनिहरुलाई ग्रामिणमहिला सेवा केन्द्रले बसमा हालेर सदरमुकाम हेटौंडा ल्याएका थिए । त्यसपछी यि दुबै गाँउमा कोहीपनी महिलाले नागरिकता बनाएका छैनन् । २०६०÷६१ सालमा त्यहाँको महिलाहरुलाई हेटौंडा ल्याएर नागरिकता बनाउन सहयोग गरेको महिला बचत तथा ऋण सहकारी संस्था लि. भिमफेदीकी निबर्तमान अध्यक्ष मंगलदेबी श्रेष्ठले बताउनुभयो । नागरिकता बनाएको समय स्मरण गर्दै उहाँ भन्नुहुन्छ“हामिले त्यस बेला नागरिकता बनाएर ल्याएको भोलिपल्टनै एक बृद्ध महिलाको त निधन भएको थियो ।” प्लान नेपाल मकवानपुरको सहयोगमा ग्रामिण महिला सेवा केन्द्रले त्यसबेला नागरिकता बनाएपश्चात हालसम्म अन्य महिलाले नागरिकता नबनाएको श्रेष्ठको भनाई छ । त्यसबेला नागरिकता बनाएका मध्ये केहीको निधन भैसकेको त अन्य पनि उमेरले पाकोभैसकेको बताउदै श्रेष्ठले हाल बिबाह गरेर आएका बुहारीको र हुर्केका छोरीको समेत नागरिकता नबनेको बताइन् ।
नागरिकता बनाउन कागजपत्र नै पुरा लिएर नआउने र नागरिकता बनाउनुपर्नेबारे बताउदा पनि यि गाँउका पुरुषले नै त्यतीपहल नगर्ने जानकारहरुको भनाइछ । यहाँकी कान्छिमाया चेपाङ, वुद्धिमाया स्याङतानजस्ता बहुसंख्यक महिलाको नागरिकता हालसम्म पनि बनेको छैन ।