मकवानपुरमा पहिरोको जोखिम नै जोखिम
हेटौंडा, १९ असार । जिल्ला भू–संरक्ष कार्यालय मकवानपुरले अविरल वर्षा भईरहेको समयमा मकवापुर जिल्ला पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । पहिरोको जोखिमका हिसाबले मकवानपुर देशकै दोस्रो उच्च जोखिम भएको जिल्ला हो ।
कार्यालयका अनुसार मकवानपुरमा हालसम्म ३२ हजार ७ सय परिवार पहिरोबाट प्रत्यक्ष प्रभावित छन् । त्यस्तै १ हजार ४ सय ३५ परिवार पहिरोको उच्च जोखिममा छन् । कार्यालयको तथ्यांक अनुसार १ सय वर्गमिटरभन्दा ठूला पहिरो १ हजार ७८ वटा छन् भने यसले २ हजार ३३ हेक्टर क्षेत्रफलको जमिन नष्ट गरेको छ । जिल्लाको चुरेक्षेत्रमा मात्रै १ सय वर्गमिटरभन्दा ठूलो पहिरो ७ सय ९२ वटा रहेको उल्लेख छ ।
साविकको धियाँल, राईगाउँको गिदाभिर पहिरो, बेतिनी–८ को जौबारी पहिरो, राक्सिराङको तर्सिकोट, जैसीताल, पञ्जनी र बिर्खेडाँडा पहिरो उच्च जोखिमयुक्त भएको कार्यालयले जनाएको आजको साझाकुरा राष्ट्रिय दैनिकमा समाचार छ ।