स्थानीय तहको निर्वाचन र उम्मेदवारको चर्चा
झण्डै २ दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनको माहौल तात्तिदै गएको छ । २०७४ बैशाख ३१ मा हुन लागेको निर्वाचनले पक्कैपनि नयाँ उमङ्गको सञ्चार गरिरहेको छ । विभिन्न पार्टीका नेता कार्यकर्तामा खुशीको सञ्चार त भइरहेकै छ, जनताहरु पनि आफ्ना प्रतिनिधि छान्ने अवसर आउन लागेको प्रति उत्तिकै उमङ्गीत हुँदै आएका छन् ।
हाम्रो देशमा धेरै उतार चढाब भएका छन् । मुलुक गणतन्त्र भएको छ । संघीय संरचनामा गएको छ मुलुक । मुलुकका भू–भाग नगर र गाउँ कार्य पालिका भएका छन् । लामो समयदेखि स्थानीय तह कर्मचारीले धान्दै आएको अवस्था हो । आफ्ना प्रतिनिधि नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएको यथार्तता हो । यस कारण पनि स्थानीय तहको निर्वाचन गर्न ढिलो हुँदै आएको थियो । प्रत्येक ५ वर्षमा हुनु पर्ने निर्वाचन हुन २ दशक नै कुर्नु पर्यो यो बिडम्बना हो ।
उदेक लाग्दो कुरा के छ भने जो पनि उम्मेदवार जस्ता पनि उम्मेदवार ? राजनीतिक दलका नेता कार्यकर्ता त उम्मेदवार हुने नै भए । कोही कोही स्वतन्त्र व्यक्तित्व पनि उम्मेदवार हुन सक्लान तर पत्रकार, रेडक्रसकर्मी, ठेकेदार, दलाल, पेशागत संगठनका व्यक्तिहरु पनि उम्मेदवार भन्दै प्रचार गरिरहेका छन् ।
जे होस् ढिलै भएपनि निर्वाचन हुन लाग्दैछ । निर्वाचन आयोगले तयारी अन्तिम अवस्थामा पुर्याएको छ । तराई मधेसमा माहौल त्यति राम्रो छैन भनिदैछ तर मधेसी जनता पनि निर्वाचन चाहिरहेका छन् यो कुरामा दुईमत छैन । किनकी मधेसी जनतापनि स्थानीय तहमा आफ्ना प्रतिनिधि चाहिरहेका छन्, बिकास नचाहने हुन र मधेसी जनता ? पक्कैपनि केही केही पार्टीगत र व्यक्तिगत स्वार्थमा लागेका मधेसीका नाममा आफ्नो स्वार्थपूर्ति गर्दै आएका मधेसवादी भनिएका दलका नेताहरु चुनाव बिरोधी कुरा गर्दै छन् । तर मधेसी जनताको भावना त्यस्तो छैन ।
स्थानीय तहको निर्वाचन हुन्छ र हुनु पर्दछ भन्नेमा अब कुनै कसर बाँकी छ जस्तो लाग्दैन । यो निर्वाचनले ठूलो तरङ्ग ल्याएको छ । अहिले धेरै पार्टीहरुले आ–आफ्ना उम्मेदवार तय गरिसकेका छैनन् । यही बेला उम्मेदवारीका चर्चा परिचर्चा त भइरहेका छन् । उदेक लाग्दो कुरा के छ भने जो पनि उम्मेदवार जस्ता पनि उम्मेदवार ? राजनीतिक दलका नेता कार्यकर्ता त उम्मेदवार हुने नै भए । कोही कोही स्वतन्त्र व्यक्तित्व पनि उम्मेदवार हुन सक्लान तर पत्रकार, रेडक्रसकर्मी, ठेकेदार, दलाल, पेशागत संगठनका व्यक्तिहरु पनि उम्मेदवार भन्दै प्रचार गरिरहेका छन् । ती आकांक्षीहरुले स्वतन्त्र रुपमा उम्मेदवार भनेपनि हुने नि, उनीहरु पनि यो पार्टीको त्यो पार्टीको भन्दै उम्मेदवारीको चर्चा गरिरहेका छन् ।
हो उम्मेदवार बन्न पाउनु प्रत्येक मतदाताको अधिकार हो, जनताको मन जित्यो भने पदमा पुग्न सक्छ जो कोही । तर वर्षौसम्म काम एउटा गर्छ अनि ऊ पार्टीले आफूलाई टिकट दिन पर्ने माग गर्छ, सामाजिक सञ्जालमा लेख्छ, अन्तरबार्ता छपाउँछ र आफू लोकप्रीय भएको, जनताले आफूलाई मागेको स्वघोषणा गर्छ । यो प्रबृत्तिले चाँही राम्रो संकेत गरिरहेको छैन । विभिन्न पदका आकांक्षीहरु यसरी जग हसाउने काम बन्द गरौं र स्थानीय निकायको निर्वाचनलाई सफल बनाउनका लागि आ–आफ्नो स्थानबाट सक्दो पहल÷प्रयास गर्न तर्फ जुटौं, यसैमा बुद्धिमानी हुनेछ ।
उम्मेदवार बन्ने आकांक्षीहरुले पनि मात्र कुरा नगरौं । पदमा पुगेपछि आफ्नो ठाउँको विकासका लागि गर्ने कार्ययोजना प्रस्तुत गरौं । संसदीय निर्वाचनमा पार्टी बलियो भएका ठाउँमा पार्टीका उम्मेदवारले जित्छन् तर स्थानीय तहको निर्वाचनमा पार्टी संगसंगै व्यक्तित्व पनि हेरिन्छ, जो विकासप्रेमी छ, इमान्दार छबीको छ उसैले चुनाव जित्न सक्छ, यसतर्फ पनि ख्याल गर्दा बेश हुन्छ ।
अर्कातर्फ यस पटकको निर्वाचनमा धेरै युवा पुस्ता नेतृत्वमा पुग्दैछन् । फेरिपनि अनुभवीका नाममा उही पुरानै पुस्ताको हालीमुहाली हुनु हुन्न, युवा पुस्ताले पनि पुराना पुस्तालाई पूरै बेवास्ता गर्नु पनि हुन्न । अभिभावकत्व जरुरी छ युवा पुस्ताको लागि र पुराना पुस्ताले पनि युवाहरुलाई अघि बढाउन जरुरी देखिन्छ । यो स्थानीय तहको निर्वाचनले तल्लो स्तरका नेता कार्यकर्ताहरुलाई विभिन्न पदमा पुर्याउने छ, उनीहरुले पनि जिम्मेवारी पाउने छन् । जसले राजनीतिक दलहरुलाई पनि कार्यकर्ता व्यवस्थापनका लागि यो निर्वाचन अत्यन्त सहयोगी सिद्ध हुनेछ ।
हाम्रो वस्ती महानगर, उपमहानगर, नगर र गाउँ कार्य पालिकामा विभाजित भएको छ । अधिकार गाउँमा पुगेको छ, तर अब हामीले यसलाई सही ढंगले सञ्चालन गर्न सक्छौं कि सक्दैनौ यो चाँही चुनौति छ, त्यस कारणपनि स्थानीय तह निर्वाचनबाट आफ्ना सही प्रतिनिधि छानौं ।
(लेखक नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व उपाध्यक्ष हुन् ।