चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मतदाता परिचय पत्र पर्सीसम्म बाँडिने
हेटौंडा, २८ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मिति ३ दिन मात्र बाँकी रहँदा चुनावको प्रचारप्रसारको अन्तिम मिति आज राती १२ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
तु खबरसँग कुरा गर्दै मकवापनुको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले निर्वाचनको समय भन्दा ४८ घण्टा अघि सम्म मात्र चुनावको प्रचार प्रसार गर्न सकिने बताएका छन् । सबैतिर निर्वाचनको प्रचारप्रसार तिब्र भईरहेकोमा भोलिबाट भने कुनैपनि किसिमले निर्वाचनको प्रचारप्रसार गर्न नपाईने ढकालले बताए ।
यदि कुनै दल या उम्मेदवारले निर्वाचनको ४८ घण्टा पछि पनि प्रचारप्रसागरेमा उसको उम्मेदवारी रद्ध हुने समेत निर्वाचन आयोगले बताएको छ ।
मतदाता परिचय पत्र वितरणको लागि आजदेखि ३० गतेको समय तोकिएको छ । आजबाट सम्पूर्ण मतदाताहरुले आ–आफ्नो मतदान केन्द्रमा गई खटिएको मतदान टोलीबाट आफ्नो मतदाता परिचय पत्र प्राप्त गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
यस अघिको निर्वाचनको परिचयपत्रले यो चुनावमा मतदान गर्न नमिल्ने भएकोले आम सर्बसाधारणमा ३० गते भित्रमा आफ्नो फोटो सहितको मतदाता परिचयपत्र लिनको लागि समेत निर्वाचन आयोगले आह्वान गरेको छ ।