अशोक शाक्य बाजी मार्ने दौडमा
हेटौंडा, २० कात्तिक । अशोक शाक्य, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवार भएका छन् । राजनीतिमा लामो कालखण्ड काम गरेका शाक्य पहिलो पटक उम्मेदवार भएका हुन् । २०२२ मा जन्मिएका शाक्य २०३६ नेपाल विद्यार्थी संघको मकवानपुर उपाध्यक्ष थिए । काँग्रेसको नगर सभापति, जिल्ला सचिव, उपाध्यक्ष हुँदै अहिले पार्टीको जिल्ला सल्लाहकार छन् ।
नेपाली काँग्रेसको केन्द्रीय प्रशासन विभाग सदस्य भइसकेका शाक्य २०५४ मा सर्वसम्मत उम्मेदवार भएका थिए । तर, राप्रपासँग त्यतिबेला चुनावी तालमेल भएपछि शाक्य उम्मेदवार बन्न पाएनन् । स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाबाट मेयर उठ्ने चर्चामा रहेका शाक्य आनन्द पराजुलीले टिकट पाएपछि ब्याक भए । बुबा तेजराज शाक्यका छोरा उनी नेपाली काँग्रेसमा लामो राजनीतिक पृष्ठभूमी भएका नेता हुन् । नगर विकास समितिको अध्यक्ष भई कार्य गरेका उनी मकवानपुर बहुमुखी क्याम्पसको संचालक समितिमा पनि छन् ।
मकवानपुरको दीर्घकालिन विकास काँग्रेसको नेतृत्वमा मात्र संभव छ भन्ने धारणा राख्ने उनी मकवानपुर क्याम्पसमा छात्रवृत्ति समिति, निर्माण समितिजस्ता महत्वपूर्ण समितिका संयोजक पनि छन् । मकवानपुरको विकासका लागि सबै राजनीतिक दलसँग समान सम्बन्ध बनाउन आवश्यक रहेको भन्दै शाक्यले त्यसको लागि आफ्नो तर्फबाट कुनै कमी हुन नदिने बताए । म सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध भएको व्यक्ति हुँ त्यसैले मेरो स्थिति अनुकूल छ, उनले तु खबरसँग भने ।
विगतमा आफूले त्याग गर्दै आएको कुरा पार्टी भित्र र बाहिरका सबैलाई जानकारी नै छ । त्यसैकारणले मलाई जितोस् भनेर सबैले एउटा सद्भाव पनि राखेका छन् । मकवानपुरको विकास मेरो एउटामात्र उद्धेश्य हो । त्यसका लागि म सबैसँग मेरा कुरा पुर्याउँछु । लोकतन्त्रको दिगो विकासका लागि मेरो तर्फबाट महत्वपूर्ण कामहरु हुन्छ, शाक्यले भने ।