यस्तो आयो राप्रपाको चुनावी घोषणापत्र (घोषणा पत्र सहित)
काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आगामि मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंगलबार घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा राप्रपालाई सुस्पष्ट विचार भएको र अलग पहिचान बोकेको दल भएको दाबी गर्दै राप्रपालाई भोट हाल्नुपर्ने कारणहरु खोलिएको छ । राप्रपाले राष्ट्रियताका सवालमा पृथ्वीनारायण शाहको तस्बिर प्रत्येक कार्यालयमा राख्ने, विद्यालयका पाठ्यपुस्कमा राष्ट्रिय भावना जगाउने विषय समावेश गर्ने, सिमाको व्यवस्थापन र राष्ट्रिय सुरक्षालाई विशेष प्राथमिकता दिने घोषणापत्रमा उल्लेख छ । त्यस्तै नागरिकको ज्यान र सुरक्षाको ध्यान राख्ने, असम्लग्न परराष्ट्र नीति, नागरिकता लिँन आईपर्ने व्यवधानहरुमा सुधार गर्ने, सामाजिक सुधार र सुरक्षाका विभिन्न योजनाहरु राप्रपाले घोषणापत्रमा लेखेको छ । त्यस्तै सबै धर्मलाई समान भन्दै धर्म परिवर्तनलाई निरुत्साहित गरिने, धर्मको आधारमा हुने भेदभावलाई दण्डनीय बनाउने, विभिन्न धार्मिक स्थलहरुको विकास गरिनुका साथै विभिन्न धर्मका धार्मिक मन्दिरहरुलाई निर्माण गर्ने राप्रपाले जनाएको छ ।
आर्थिक योजना अन्तर्गत आर्थिक विकासको दुरगामी योजना, उदार तथा जनमुखी अर्थनीतिको कार्यान्वयन, १५ वर्षभित्रै देशमा रोजगारीको अवस्था सिर्जना गरी विदेश जाने बाध्यता हटाउने, ३० वर्षभित्र प्रतिव्यक्ति आय विकसित देशको दाँजोमा पुराउने र कल्याणकारी अर्थ व्यवस्थालाई प्राथमिकतामा राख्ने योजना पस्केको छ । यसका साथै आवास, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा समेत महत्वकाँक्षी योजना सहितको चुनावी घोषणापत्र राप्रपाले सार्वजनिक गरेको छ ।
हेर्नुहोस् घोषणा पत्र https://drive.google.com/file/d/1Qd1Z9A4xQkGFnZGQlvOc6vIBfcdHMsHQ/view?usp=sharing