७ वटा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २२ कात्तिक । बिभिन्न ७ वटा नकबजनी चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ चैत २९ गतेको फैसलाले जम्मा १३ बर्ष १० महिना कैद तथा १ लाख ८७ हजार ३ सय ६० रुपैयाँ जरीवाना हुने ठहर भई हालसम्म फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने नुवाकोटको साविक चौघडा गाबिस–९ का ३१ वर्षीय सिताराम तिमिल्सिनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।
काठमाडौं न्यूरोडस्थित रञ्जना ट्रेडर्स सेन्टरमा २०७३ कात्तिक ८ गते सामान किन्ने बहानामा विभिन्न पसलबाट लत्ताकपडा तथा अन्य सामानहरु चोरी गरेको आरोपमा पक्राउ परी मुद्दा चलाइएकोमा जिल्ला अदालत काठमाडौंबाट उनलाई उक्त फैसला भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सो व्यूरोले जनाएको छ ।