राजस्व अनुसन्धान पथलैयाद्वारा हेटौंडाका दुई हार्डवयरमा छापा मारियो / अन्डर विलिङको समस्या हटाउन मउवासंघ महासचिव राउतको माग
हेटौंडा । २४ कात्तिक । राजस्व अनुसन्धान इकाइ कार्यालय पथलैयाले हेटौंडाका दुई हार्डवयर पसलमा २२ गते छापा मारेको छ । तर, २२ गते भएको सो घटना अहिलेसम्म गुपचुप छ । तु खबरलाई विशेष सुत्रबाट प्राप्त सूचना अनुसार, हेटौंडा कान्तिराजपथमा रहेका जालान आइरन र नयाँ विकास नामका दुई हार्डवयरमा राजस्व अनुसन्धानले छापा मारेर कागजपत्र, खातापाता सबै नियन्त्रणमा लिएको
छ ।
सो दिन पथलैयाबाट आएको विशेष अनुसन्धान टोलीले यि दुबै पसलमा छापा मारेको थियो । राजस्व अनुसन्धान पथलैयाले घटनाको पुष्टि गरेको छ ।
राजस्व अनुसन्धान कार्यालयका सूचना अधिकारी भीम देवकोटाले उजुरीको आधारमा आवश्यक अनुसन्धानका लागि केही कागजात नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार, सो कागजपत्रहरुको अनुसन्धान भएपछिमात्र आरोप सही वा गलत के हो भन्ने बारे बताउन सकिने बताए ।
आफ्नो पसलमा राजस्व कर्मचारीहरु आएको र कागजपत्र तथा खाताहरु जालान हार्डवयरले पनि पुष्टि गरेको छ ।
मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले स्रोतमै हुने गरेको अन्डर विलिङले थुप्रै समस्या भइरहेको बताए । स्रोतमा विलिङ हुँदा अन्डरमा हुने अनि हाम्रा व्यवसायीले दुख खेप्नु पर्ने कुरा स्वीकार्य नहुने उनको धारणा छ । आजसम्म यो गम्भीर बिषयलाई थाहै नपाएजस्तो गरी राजस्व लगायतका सरकारी निकायले व्यवसायीलाई दुख दिइरहेको राउतको आरोप छ । उनका अनुसार, गलत गर्ने व्यवसायी होस् वा अन्य जो सुकै होस्, कानून बमोजिमको सजायको भागीदार हुनुपर्ने भएपनि इमान्दारिपूर्वक व्यवसाय चलाइरहेकाहरुको समस्या पनि राज्यले नोटिस गर्नु पर्ने बताए । यस बिषयमा केन्द्रीय तहसम्मले चासो र चिन्ता लिनु पर्ने भन्दै राउतले व्यवसायीलाई अनावश्यक दुख नदिन र व्यवसायीले पनि सबै खातापाता र कागजपत्र चुस्त राख्न आग्रह गरेका छन् ।