पैसावाला उम्मेदवारको अगाडी म निम्छरो उम्मेदवार : प्रल्हाद लामिछाने

उम्मेदवार, मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १, नयाँ शक्ति पार्टी, नेपाल
तु खबर संवाददाता
२०७४ कार्तिक २४,शुक्रबार ०९:५८

प्रस्तुति : शिव चौलागाईँ

हामी यस कारण खुसी छौं की हाम्रो एजेण्डाले जितिसकेको छ । हामीले उठाएका एजेण्डा ठूला अरु पार्टीले पनि उठाएपनि हाम्रा साथीहरु पनि उतैतिर लागेका छन् । ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उक्ति हामीमा पनि लागू भयो । फेरी हामी अहिले शक्तिमा पनि छैनौं । हाम्रा साथीभाईले सङ्गठन छाडेपछि पक्कै पनि हामी कमजोर हुन्छौं । राजनीतिमा यो चलिरहन्छ, आउँने जाने क्रम भइरहन्छ । हाम्रो एजेण्डा सही छ हामी एक दिन अवस्य ठूलो शक्ति बन्नेछौं हामी त्यही प्रतिक्षामा छौं ।

मकवानपुर, २४ कात्तिक । मकवानपुरगढीमा वि.सं.२०२९/११/२९ गते जन्मिएका प्रल्हाद लामिछाने वि.सं.२०४२ सालदेखि राजनीतिमा सक्रिय छन् । नेकपा मसाल निकट विद्यार्थी सङ्गठन अखिल (छैठौं) बाट राजनीतिमा होमिएका लामिछाने नेपालमा चलेको दशवर्षे सशस्त्र जनयुद्घमा पनि सामेल भए । वि.सं.२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर ३ बाट नेकपा माओवादीबाट विजयी भएका लामिछानेले वि.सं २०७० को दोस्रो संविधानसभाको चुनावमा पराजय व्यहोरे । बाबुराम भट्टराई निकट रहेका लामिछाने बाबुरामले माओवादी केन्द्र पार्टी छाडेपछि गठन गरिएको नयाँशक्ति पार्टी नेपालमा लागे । अहिले नयाँशक्तिको केन्द्रिय सदस्यको भूमिकामा रहेका लामिछानेले सो पार्टीबाट मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । तत्कालीन जनयुद्घका बेला पार्टी मकवानपुरका सेक्रेटरी, पार्टीको जिल्ला सह इन्चार्जको भूमिका निर्वाह गरेका लामिछानेले माओवादी आन्दोलनमा लागेकै कारण वि.सं.२०५८ देखि २०६० सम्म दुई वर्ष आतङ्ककारी मुद्घामा जेल समेत बसे । मिलनसार स्वभावका उम्मेदवार लामिछानेसंग हामीले उनको उम्मेदवारी, चुनावी एजेण्डा लगायतका विषयमा कुराकानी गरेका छौं ।
तपाई यो पटक नयाँशक्ति पार्टीबाट उम्मेदवार हुनुभएको छ चुनावको प्रचार प्रसार कसरी गर्दै हुनुहुन्छ ?
जनताका बिचमा पर्चा र घोषणापत्र बोकेर हामी यतिबेला गइरहेका छौं । यसका लागि हाम्रो सानो टिम छ । एउटा टाटासुमो लिने चोकचौतारीमा पुग्ने अनि अरु उम्मेदवारझैं मत माग्ने काम हामी गर्दैछौं । हामी अहिले जनताको बिचमा बिचमा पुग्ने काममा मात्र लागिपरेका छौं । किनभने खर्च धेरै नगर्ने, केवल आफ्ना एजेण्डा जनतालाई सुनाएर अघि बढ्ने कार्यमा हामी लागिपरेका छौं । चुनावका लागि बनाइएको निर्वाचन परिचालन कमिटीले आफ्नो विभिन्न समिति अन्तर्गतका कामहरु यतिबेला गरिरहेको छ । समग्रमा हामी आफ्नो एजेण्डा बताउँदै हामी पनि चुनावमा छौं है भन्नका लागि जनताका बिचमा अहिले गइरहेका छौं ।
नयाँशक्ति पार्टीको चुनावी एजेण्डा चाँही के हो ?
‘अबको निकास, आर्थिक विकास’, ‘समृद्घि सम्भव छ हाम्रै पालामा’ भन्ने नाराका साथ हामी चुनावमा होमिएका छौं । चुनावमा हामी मकवानपुरको समृद्घिका लागि के के गर्न सकिन्छ भन्ने एजेण्डा लिएर अघि बढेका छौं । देशभरका लागि तयार पारिएको समग्र एजेण्डाका साथै मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ का लागि विभिन्न एजेण्डा सहित हामी चुनावमा लागेका हौं । यो क्षेत्रलाई हरियाली, मानवीय बनाउनका लागि हाम्रो ध्यान छ । पूर्वी क्षेत्रमा खहरेको समस्या छ, सडक पनि कच्ची छ यी समस्या समाधानका लागि लाग्नुपर्ने छ । सरकारी बजेट ल्याएर सडक विकास, ठूला हाइवे धरान –चतरा, फास्ट ट्रयाक व्यवस्थित बनाउने र सबै बाटो जोड्ने लिङ्क रोड बनाउँने योजना छ । बेतिनी, मन्थली, छतिवन, र ठिङ्गनमा खानेपानी समस्या छ । बकैया, बुदुने खोलाबाट सिँचाईको व्यवस्था पनि गर्ने योजना पनि हाम्रो छ । हेटौंडा विस्तारपछि थपिएका हटिया–हर्नामाडीजस्ता नयाँ शहरमा व्यवस्थित बस्ती बसाउन गुरुयोजना तयार पार्ने हाम्रो एजेण्डा छ । यस्तै, मकवानपुरको पदमपोखरी, चुरियामाईको विकासका लागि योजनाबद्घ रुपमा लागिनेछ भने मकवानपुरगढीको ऐतिहासिक दरबारको संरक्षण गर्नु पनि अहिले आवश्यकता बनेको छ । सिचाईंटोल देखि मनकामना डाँडासम्म केबलकार चलाउने अनि राप्तीपुलदेखि भैरवडाँडा पाथिभरा मन्दिरसम्म केबलकार निर्माण गरी मकवानपुरको विकास गर्ने लक्ष्य छ । मकवानपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि लागिपर्नुका साथै हेटौंडालाई प्रदेशको राजधानी बनाउनका लागि पहल गर्ने लगायतका चुनावी एजेण्डा हामीसंग छन् ।

तपाई संविधानसभाको निर्वाचनमा माओवादीबाट विजयी हुनुभयो । त्यो बेलामा चाँही के गर्नुभयो त खै आफ्नो कार्यकालमा ?
विगतमा संविधान निर्माणमा केन्द्रित भइएको हो । सम्पूर्ण ध्यान संविधान निर्माणमा थियो । विकासका कामहरु धेरै गर्न यसकारण पनि सकिएन । त्यो बेलामा पनि चौकीटोल–लालझाडी जोड्ने झोलुङ्गे पुल, मकवानपुरगढीमा जोड्ने ग्रामिण मार्ग निर्माणको काम गरियो । यो मार्गका लागि अहिले पनि सडक विभागबाट बजेट विनियोजन हुने गरेको छ । हेटौंडामा रहेको पशुपति मन्दिरको हल निर्माण गर्नुका साथै बस्तीपुर–रमन्टार जोड्ने पक्की पुल जुन अहिले निर्माण भएको छ त्यो मेरै पहलमा सबै काम भएको हो ।
मतदाताका बिचमा तपाईहरु केवल आफूलाई देखाउँनका लागि मात्र जादै हुनुहुन्छ, चुनाव हार्ने डरले त हो नि हैन ?
अब करोडौं खर्च गर्न नसक्नेले चुनाव जित्न सक्ने अवस्था छैन । चुनाव अब वास्तवमा महङ्गो भयो । चुनावमा हुने त्यस्ता गलत संस्कृति विरुद्घ पनि मेरो उम्मेदवारी हो । अनि आफ्ना एजेण्डा बताउँन पनि उम्मेदवारी दिएर जनताका बिचमा जानका लागि मात्र हो । चुनाव भनेको जनताको बिचमा जाने एउटा अवसर पनि हो, त्यो अवसरको सदुपयोग गर्नका लागि तामझाम आवश्यक पर्दैन । सामान्य रुपमा प्रचार प्रसार गरेर पनि आफ्ना एजेण्डा जनताका बिचमा राख्न सकिन्छ यसैले सामान्य भेटघाट गरेर प्रचार प्रसारमा लागिरहेको छु । आफ्नो एजेण्डा बताउँन भेटेर नमस्कार गर्दा पनि हुन्छ । जुलुस, भीड देखाउँन पर्दैन । हाम्रो राजनीतिक दल सानो भएकाले पनि हामी अभ्यासमा छौं । साधनस्रोतका हिसाबले पनि हामी कमजोर छौं । जनताको मन जित्ने, जनताको बिचमा जाने अवसरको सदुपोग गर्न खोजेको हो । यो दलहरुको एउटा महत्वपूर्ण पर्व पनि हो ।

राजनीति डनवाद, धनवाद, विकृती, विसङ्गतिले भरिदै गयो । मूल्य मान्यताको राजनीति हराउँदै गएको अवस्था छ । सत्तामा पुग्नका लागि जहिल्यै जहाँ पनि दलहरुले एकता गर्ने गर्दछन् । यसबाट जनतामा पनि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने भ्रम भइरहेको छ । पैसावाला उम्मेदवारका अगाडी म निम्छरोको उम्मेदवारी पक्कै पनि अनौठो लाग्नसक्छ ।

हार्ने निश्चित हुँदाहुदै पनि चुनावमा चाँही किन होमिनुभएको त ?
एजेण्डागत हिसाबले हिसावले हामीले चुनाव जित्यौं । अहिले दलहरुले समेटेको चुनावी एजेण्डा आर्थिक समृद्घि र विकास हामीले नै सुरुमा भनेको एजेण्डा हो । हिजो शान्ति र संविधानको एजेण्डा बाबुरामले राखेका हुन्,अहिले मुलुक त्यसैको बाटोमा हिडेको छ । यसैले हामी खुसी हुनुपर्छ । आफूले अघि सारेका एजेण्डा जनताका बिचमा जनतालाई सुनाउनका लागि पनि चुनावमा जानुपर्छ । हामी ठूलो भएर जान नसकेपनि सानै दलका रुपमा पनि आफ्ना एजेण्डा जनताका बिचमा राख्ने अवसर भने हामीले लिन खोजेका हौं ।
तपाईले अरु दलका उम्मेदवारलाई सघाएर अघि बढ्न पनि सक्नुहुन्थ्यो नि हैन र ?
मैले सुरु गरेको राजनितीले गति लेओस् भन्ने चाहाना हुन्छ तर सोचेजस्तो हुन्न । मलाई ठूला दलमा गएर शक्तिशाली हुने सुझाव पनि पाउँछु तर त्यसरी पनि हुदैन । बरु पार्टी ध्रुवीकरण भएर ठूलो पार्टीको नेता भएर अघि बढ्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
नयाँशक्ति पार्टी मकवानपुरमा पनि छिया छिया भएको छ । यस्तो अवस्थामा तपाईं उम्मेदवार हुनुहुन्छ, नयाँशक्तिलाई राम्रै धक्का लाग्यो नि ।
हामी यस कारण खुसी छौं की हाम्रो एजेण्डाले जितिसकेको छ । हामीले उठाएका एजेण्डा ठूला अरु पार्टीले पनि उठाएपनि हाम्रा साथीहरु पनि उतैतिर लागेका छन् । ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उक्ति हामीमा पनि लागू भयो । फेरी हामी अहिले शक्तिमा पनि छैनौं । हाम्रा साथीभाईले सङ्गठन छाडेपछि पक्कै पनि हामी कमजोर हुन्छौं । राजनीतिमा यो चलिरहन्छ, आउँने जाने क्रम भइरहन्छ । हाम्रो एजेण्डा सही छ हामी एक दिन अवस्य ठूलो शक्ति बन्नेछौं हामी त्यही प्रतिक्षामा छौं ।
कुराकानीको अन्त्यमा छौं, तपाई आफ्नो क्षेत्रको मतदातालाई के भन्न चाहानुहुन्छ ?
राजनीति डनवाद, धनवाद, विकृती, विसङ्गतिले भरिदै गयो । मूल्य मान्यताको राजनीति हराउँदै गएको अवस्था छ । सत्तामा पुग्नका लागि जहिल्यै जहाँ पनि दलहरुले एकता गर्ने गर्दछन् । यसबाट जनतामा पनि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने भ्रम भइरहेको छ । पैसावाला उम्मेदवारका अगाडी म निम्छरोको उम्मेदवारी पक्कै पनि अनौठो लाग्नसक्छ । आफ्नो मूल्य मान्यतामा विश्वास राख्ने गर्छुृ, फेरी पनि जनतामा आएको छु । जनताले पनि राम्रो मूल्य मान्यता लिएका कारणले मलाई मत दिनेछन् भन्ने विश्वास छ मलाई । कसैको प्रभावमा नपरी मलाई विवेकको मत दिनका लागि म मकवानपुरको एक नम्बर क्षेत्रका जनतालाई आग्रह गर्न चाहान्छु । धन्यवाद ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*