हेटौँडालाई प्रदेश राजधानी बनाउने आधारहरु
-श्याम कृष्ण कार्की
सिभिल ईञ्जिनियर
हेटौँडा–१६
करिब २६१.६ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको नेपालकै सफा र सुन्दर नगरी हेटौँडा संघिय गणतन्त्र नेपालको ३ न. प्रदेशमा पर्दछ । प्रदेशका १३ जिल्लाहरु भक्तपुर, धादिङ, चितवन, दोलखा, काठमाण्डौ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक मध्ये हेटौडा मकवानपुर जिल्लाको सदरमुकामको रुपमा रहि आएको छ । अन्य शहरहरुमा खास क्षेत्रबाट मात्र बसाँईसरी आउने समुदायको बाहुल्यता रहेता पनि हेटौडामा भने नेपालको सबै क्षेत्रबाट आएका मानिसहरुको उपस्थिती रहेको पाईन्छ यसै कारण हेटौँडा धर्म, संस्कृति, जातजाती, भाषा ईत्यादीको हिसाबले बेजोड समिश्रणको रुपमा परिचित छ ।
मुलुकमा संघियता कार्यान्वयन हुँदै गर्दा स्थानिय सरकारको चुनाव सम्पन्न भई प्रदेश तथा केन्द्र सरकारको चुनाव हुन गइरहेको छ । यसै सन्दर्भमा प्रदेशहरुको राजधानीहरु तोक्ने विषय पेचिलो बन्दै गईरहेको छ भने कतिपय राजनितिक दल र नेताले यसलाई भोट माग्ने उत्तम विषयका रुपमा प्रस्तुत गर्दै आएका छन् । संविधानको धारा २८८ को उपधारा २ मा सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने व्यवस्था भए बमोजिम प्रदेश सरकारको चुनाव पछि कुनै दलको स्पष्ट बहुमत आएमा राजधानी तोक्ने काम सजिलै हुनसक्ला अन्यथा यस विषयमा फेरी पनि एकपटक ठुलै राजिनितिक विवाद आउन सक्ने देखिन्छ । खएर जे जस्तो भए पनि प्रदेश न.३ को राजधानीको लागि हटौडा किन उपयुक्त छ भन्ने विषयमा चर्चा गर्नु पर्दा कुनै पनि स्थानमा राज्यको राज्य सञ्चालनका अंगहरु राख्न त्यो स्थानको भौगोलिक, आर्थिक, साँस्कृतिक, बातारणिय, पर्यावरणिय ईत्यादी पक्षहरुको गहन अध्ययन हुन जरुरी छ । यसै अनुरुप हेटौडालाई प्रदेश न.३ को राजधानी बनाउन निम्न लिखित आधारहरुले सहयोग पु¥याउने देखिन्छ ।
भौगोलिक आधार
मकवानपुरको अधिकांश भुभाग डाँडाकाँडा, पहाडले ढाकिएको भएता पनि हेटौडा शहर भने समतल भुभागमा पूर्व पश्मि करिब २० कि.मी. र उत्तर दक्षिण करिब ४ कि.मी. औषत क्षेत्रमा रहेको छ । जसले भौतिक पूर्वाधारहरु निर्माण गर्न सहजता प्रदान गर्न सक्छ ।
मौसमीय आधार
हेटौडामा गर्मीको समयमा तराइ जिल्लाहरुको जति ज्यादै गर्मि पनि नहुने र जाडोको समयमा ज्यादै चिसो पनि नहुने मध्यम खालको तापक्रम रहने स्थान हो । धेरै जसो समय मौसम सफा नै रहने हेटौडा तराईका जनतालाई शितल अनुभव गर्ने तथा पहाड हिमालका जनतालाई न्यानो अनुभव गर्ने स्थानको रुपमा परिचित छ । जसले गर्दा राजधानी तोकिए पछि पहाडी ३ न. प्रदेशका जनतालाई प्रदेशको राजधानी आउँदा मौसमिय समस्या समेत नहुने देखिन्छ ।
कनेक्टिभिटीको आधार
हेटौडा शहर कनेक्टिभिटीको हिसाबमा अति नै उपयुक्त छ । मुलुकको सबैभन्दा पुरानो लोकमार्ग, त्रिभुवन लोकमार्ग लगायत, महेन्द्र लोकमार्ग, कान्ति लोकपथ, द्रुत मार्ग (फास्ट ट्रयाक), हेटौडा–कुलेखानी–काठमाण्डौ मार्ग, धरान–चतरा–हेटौडा मार्ग आदि संग जोडिएको पनि हुनाले हेटौँडा तराई–पहाड सबैको नजिक रहेको छ । केन्द्र सरकारको राजधानी काठमाण्डौमा तुरुन्तै पुग्न सकिने यथेष्ट विकल्प रहेको रोड नेटवर्क ३ न. प्रदेशको अन्य जिल्लाका विकल्पित शहर भन्दा हेटौँडा उपयुक्त छ ।
आर्थिक तथा औधोगिक आधार
नेपालको सबै भन्दा ठुलो र व्यवस्थित औधोगिक क्षेत्र हेटाँैडा औधोगिक क्षेत्र यसै शहरमा पर्दछ । वि.स.२०२०–२१ मा अमेरिकी सरकारको सहयोगमा करिब २१२ बिगाहमा स्थापना गरिएको यस हेटौँडा औधोगिक क्षेत्रमा करिब ८० भन्दा बढी उधोगहरु सञ्चालनमा रहेका छन् । उप–महानगरपालिका भए संगै औद्योगिक क्षेत्रलाई शहरको दक्षिण पश्चिम भुभागको करिब २०० बिगाह ओगट्ने गरी थप गर्ने योजना रहेको छ । उद्योग सञ्चालनको लागि तराई तथा भारतबाट आउने कच्चा पदार्थ सस्तो ढुवानीमा पाउन सकिन्छ भने उत्पादन भएका बस्तुहरु सस्तो भाडामा निर्यात गरी आर्थिक लाभ लिन सकिन्छ । देशको पूर्वाधार निर्माणमा अति आवश्यक निर्माण सामाग्री सिमेन्टको लागि हेटौँडाले पहिले देखि नै ख्याती कमाईरहेको छ । मकवानपुरका पहाडहरुमा चुनढुंगााको यथेष्ट खानी भएका कारण सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट कारखाना तथा निजी स्वामित्वमा शिवम सिमेन्ट कारखाना सञ्चालन भईरहेको छ भने निजी स्वामित्वमै ऋद्धी सिद्धी सिमेन्ट कारखाना सञ्चालनमा आउने तयारीमा रहेको छ र यसरी उद्योग तथा आर्थिक गतिविधीले राजधानी निर्माणको आधारलाई अझ धेरै सहज बनाउने देखिन्छ । त्यसो त चितवन र नवलपरासी पछि कुखुरा पालनमा समेत हेटौडा क्षेत्र गणना हुन थालेको छ ।
खानेपानी तथा सरसफाईको आधार
सामरी, कर्रा, कुलेखानी तथा कुखरेनी गरी ४ खोलाहरु हेटौँडा भएर बग्दछन् । हाल ग्राउण्ड वाटर (जमिन मुनीको पानी) लाई प्रमुख खानेपानीको स्रोतको रुपमा प्रयोग गरिँदै आएको भएता पनि भोली राजधानीको रुपमा परिणत भए पश्चात पनि बढ्दो जनसंख्या तथा उद्योग कलकारखानाको लागि आवश्यक पानी खोलामा ड्याम बनायर प्लान्ट खडा गरेर समेत पानीको मागलाई सहजै पुरा गर्न सकिने विकल्प रहेको देखिन्छ । त्यस्तै ढल तथा स्यानिटेशनको लागि यथेष्ट पानी तथा सुहाउँदो ग्रेडियण्ट(भिरालो) भएको हुँदा सरसफाईको समस्या समेत नआउने देखिन्छ । फोहोर व्यवस्थापनका लागि औधोगिक क्षेत्रमा सोही अनुरुपको ट्रिटमेण्ट प्लान्ट छ भने अन्य ल्याण्ड फिल्ड साईडको लागि जग्गाको समस्या पनि छैन ।
पूर्वाधार निर्माणको सुविधा
राजधानी तोकिए संगै मुख्य मन्त्रि लगायतका सरकारी कार्यालय तथा आवासहरुको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि यहाँको माटोको भार बहन क्षमता राम्रो रहेको साथै निर्माण स्थलका लागि आवश्यक जग्गाहरु समेतको उपलब्धता रहेको र यो क्षेत्र चुरे क्षेत्रको नजिक परेको हुनाले आवश्यक निर्माण सामाग्रीहरु ढुंगा, बालुवा, गिटी इत्यादी पर्याप्त मात्रामा सस्तो मुल्यमा प्राप्त गर्न सकिन्छ । थप गर्नु पर्ने भौतिक पूर्वाधारहरुको लागि आवश्यक श्रोत र साधान समेत येथेष्ट रहेको छ ।
अतः प्रदेश न. ३ को राजधानी हेटौडा भएमा अन्य प्रदेश लगायत केन्द्र सरकारलाई समेत लाभ हुने देखिएकोले भोलिका दिनमा क्लिन सिटी हेटौडालाई प्रदेश राजधानी घोषणा गरिनेछ भन्ने कुरामा हामी हेटाँैडावासी एकदमै आशाबादी साथै विश्वस्त छौँ र प्रदेशका अन्य जिल्लाका जनताहरुलाई “हाम्रो हेटौँडा राम्रो हेटौँडा” मा स्वागत गर्न सदैब तत्पर रहन्छौ ।