कमल थापाको दबाबमा आचारसंहिता विपरित विद्युतका कर्मचारी राईगाउँमा
मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले निर्वाचन जित्न सरकारी संयन्त्रको प्रयोग गरिरहेको खुल्न आएको छ । मकवानपुरको राईगाउँमा विजुली पुर्याउनका लागि उनले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेका छन् । फापरबारीको लम्कनासम्म बिजुली पुगेको छ । त्यसभन्दा उता बिजुली नपुर्याई नहुने अवस्था पनि छ । तर, चुनावको मुखमा आएर १५ दिनभित्र बिजुली राईगाउँसम्म पुर्याउने भाषण गर्दै कमल थापा हिँडिरहेका छन् । उनैको भनाइलाई बल पुग्ने गरी विद्युत प्राधिकरणले विजुलीको काम भटाभट गरिरहेको छ । कर्मचारीहरु स्रोतसाधनसहित त्यो क्षेत्रमा छन् ।
तत्काल सोही क्षेत्रमा बिजुली पुर्याउन विद्युतका माथिल्ला हाकिमहरुले कर्मचारीलाई दबाब दिइरहेको स्रोतले बताएको छ । बर्षौदेखि अन्धकार रहेको राईगाउँमा चुनावकै मुखमा आएर त्यो पनि १५ दिनभित्रै विजुली पुर्याउन कर्मचारीलाई दबाब सिर्जना भइरहेको कर्मचारी स्रोत बताउँछ । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा १ मा उम्मेदवार रहेका राप्रपा अध्यक्ष कमल थापा मनोनयनपछि गाउँ गइरहेका छन् ।
वर्षौअघिदेखि राईगाउँमा विजुली लैजान बजेट विनियोजन हुँदै आएको भएपनि हालसम्म त्यो क्षेत्रको काम सुस्त थियो । निर्वाचन आचारसंहिता लाग्नु अघि विजुली पुर्याउन खासै काम नगर्ने विद्युत प्राधिकरण अहिले रातारात विजुली पुर्याउन लागि परेको छ । विद्युत प्राधिकरणका कर्मचारीहरु कार्यालयको आदेशले बिजुलीको काम गर्न राईगाउँ आएको बताउँछन् । कार्यालयले फर्की भन्यो भने हामी फर्कन्छौ, एक कर्मचारीले भने ।
यस बिषयमा मकवानपुरका मूख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले यस विषयमा विद्युत प्राधिकरणसँग बुझेरमात्र केही बताउन सक्ने बताए । उनले तुरुन्तै यसबारेमा बुझ्ने प्रतिवद्धता जनाएका छन् ।