विप्लवको दुई कार्यकर्ता मकवानपुरमा पक्राउ, पार्टीद्वारा विरोध
मकवानपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्तालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पार्टीले घटनाको घोर भत्र्सना गर्दै निकालिएको प्रेस विज्ञप्तिमा प्रहरीले दुई जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ ।
पार्टीका जिल्ला ईन्चार्ज विरवहादुर घलान ज्वाला र रामबहादुर घलान अनुरागद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार प्रहरीले नेकपाका कार्यकर्तालाई बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले नेकपाका जिल्ला सदस्य सागर घताने र राष्ट्रिय युवा जनस्वयमसेवक मकवानपुरका सदस्य सोनाम लामालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
विज्ञप्तिमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरिएको छ । साथै बिना शर्त नछोडिए कडा संघर्ष गरिने चेतावनी समेत दिइएको छ । यस विषयमा जिल्ला प्रहरीले भने आधिकारिक सूचना दिएको छैन ।