उम्मेदवारमाथि बम प्रहार भएपछि भोजपुरमा सुरक्षा व्यवस्था कडा
भोजपुर, ३० कात्तिक । भोजपुरमा एक उम्मेदवारमाथि बम प्रहार भएपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । भोजपुरमा नेकपा एमालेका तर्फबाट प्रदेशसभाका उम्मेदवार शेरधन राईको गाडीमा बम प्रहार भएपछि सुरक्षा व्यवस्थामा कडा बनाइएको हो ।
भोजपुरको सदरमुकाममा बुधबार बसेको सर्वदलीय बैठकले सुरक्षालाई कडा बनाउने निर्णय गरेको हो । बैठकले अंगरक्षक थप गर्ने निर्णय गरे अनुसार वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँती र प्रदेशसभा (क) का उम्मेदवार राजेन्द्रकुमार राईलाई अंगरक्षक समेत व्यवस्था गरिएको छ ।
बैठकले लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी, प्रदेशसभा (क) का उम्मेदवार अजम्बर राई काङमाङ र प्रदेशसभा (ख) का उम्मेदवार गोविन्दबहादुर कार्कीलाई समेत अंगरक्षकको व्यवस्था गरेको छ ।