जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा
![](https://www.tukhabar.com/wp-content/uploads/2017/11/Tukjabar-Facebbok-Logo-1.jpg)
जाजरकोट, १ मंसिर । कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ ।
दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बन्नुभएका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बन्नुभएका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित हुनुभएको थियो ।
तत्कालीन क्षेत्र नं १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक÷अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाउनुभएको थियो । अहिले सिंह नै बस्नेतलाई जिताउनका लागि गाउँ÷गाउँमा भोट माग्दै हुनुहुन्छ ।
पूर्वी क्षेत्रका सबै ठाउँमा परिचालनको मुख्य जिम्मेवारी बोकेर उहाँले बस्नेतका लागि गाउँगाउँमा पुगेर भोट मागिरहनुभएको छ । “हाम्रो राजनीतिक लाइन जसरी अघि बढ्छ त्यसरी नै हामी अगाडि बढ्नुपर्छ” सिंहले भन्नुभयो ।
वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेत पनि हिजोका राजनीतिक सम्बन्धलाई अहिले सम्झेर सम्भव नहुने बताउनुहुन्छ । “राजनीतिमा अनेक सम्भावना हुन्छन् । कहिले एकले अर्कालाई हराउनुपर्ने समय आयो भने अहिलेसँगै मिलेर जानुपर्ने भयो,” उहाँले भन्नुभयो, “राजनीतिमा यो नयाँ अनुभव हो । हामी नयाँ अभ्यास गर्दैछौं ।”
वाम गठबन्धनका कारण जाजरकोट प्रतिनिधिसभा र क्षेत्र नं १ मा(माओवादी केन्द्र)को भागमा परेको छ भने क्षेत्र २ एमालेको भागमा परेको छ । -(रासस)