यस्तो छ बामगठबन्धन मकवानपुरको प्रतिबद्धता–पत्र

तु खबर संवाददाता
२०७४ मंसिर १,शुक्रबार १०:०५

हेटौंडा, १ मंसिर । नेकपा एमाले मकवानपुर र नेकपा माओवादी केन्द्र (बामगठबन्धन) को संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्बजनिक गरीएको छ । प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओवादी केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

बामगठबन्धनले प्रदेश स्तरमा ८ वटा तथा जिल्ला स्तरमा ३२ वटा बिभिन्न बिकास निर्माणका तथा अन्य महत्वपुर्ण कार्य गर्ने गरी प्रतिबद्धता पत्र सार्वजनिकि गरेको छ । जिल्ला स्तरमा हेटौंडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन अधिकतम पहल गर्ने, फास्ट ट्रयाक, कान्ति लोक मार्ग र हेटौंडा–धरान–चतरा लोकमार्ग निर्धारित समयमा नै सम्पन्न गराउन सरकार तथा ठेकेदार कम्पनीलाई दबाब दिई गर्न लगाउने, २५ मिटर सडक सन्दर्भमा मुआब्जा दिएर मात्र बिस्तार गराउने कुरा दृढ रहने र मुख्य बाटो बजार भन्दा पनि बैकल्पिक मार्ग निर्माण गर्ने, हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ मार्गलाई स्तरीकरण गरी नेपाल सरकारको लगानीमा भिमफेदी र कुलेखानी जोड्न पहल गर्ने, फापरबारी–राईगाउँ–क्याण्टिन सडक निर्माण सम्पन्न गराउने लगायतका योजनाहरु प्रतिवद्धत्ता पत्रमा उल्लेख छ । त्यस्तै हेटौंडा १९ बस्तीपुरबाट मनहरी ३, भुन्दु्रङ जोड्ने र हेटौंडा ११ नवलपुरबाट हेटौंडा १२ गुरौबिर्ता जोड्न राप्तीमा पक्की पुल निर्माण गर्ने, बसामाडी–लेबट–बस्तीपुर–नेवारपानी चक्रपथ निर्माण गरीने योजना अगाडि सारिएको छ ।

हेटौंडा ६ मा रहेको रंगशालालाई केन्द्रिय खेलकुद विश्वविद्यालयको रुपमा स्थापित गरिने, प्रदेश स्तरीय मेडिकल कलेज, ईञ्जिनियरीङ कलेज तथा प्राविधिक शिक्षालय स्थापनामा जोड दिने, नेकपा एमालेको नेतृत्व सरकारको निर्णयमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अनुरुप हेटौंडा १४ मयुरधापमा विस्तारित औद्यागिक क्षेत्रलाई पुर्वाधार निर्माण गरी स्थापना कार्यलाई तिब्रता दिने, हेटौँडादेखि बुधुने फास्ट ट्रयाक जोड्ने लिंक रोड निर्माण कार्य अगाडि बढाउनेलगायतका योजनाहरु बमगठबन्धनले अगाडि सारेको छ ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाको सर्ब वडा जोड्ने चक्रपथ निर्माण गर्ने, सबै गाउँपालिका सदरमुकामबाट वडाहरुमा जोड्ने सडक सञ्जाल स्तरीकरण गरीने, हेटौंडा, भिमफेदी, इन्द्र सरोबर र थाहाबिच पर्यटन बिस्तारको गुरुयोजना तयार गरी सोही अनुरुप अगाडि बढाइने, मकवानपुरका मकवानपुरगढी दरबार, चिसापानी गढी, चित्लाङको अशोककालिन चैत्य संरक्षण तथा विकासका लागि जोड दिने, जिल्लाका धार्मीक पर्यटकिय स्थलहरु चुरीयामाई, भुटनदेवी, मनकामना, ऋषेश्वर, स्यार्सेकालिका, ईन्द्रायणी, बाराही, कुष्माण्ड सरोवर त्रिवेणी धाम, पाथिभरा, दक्षिणकाली, भालेश्वर, भुवनेश्नवर, रुद्रेश्वर, वनस्खण्डी, पुण्यक्षेत्र, वंशगोपाल, लक्ष्मीनारायण र कृष्ण प्रणामी मन्दिर, हेटौंडा १६ र १७ मा रहेका राजदेबी, गुप्तेश्वरी, शक्तेश्वर तथा जुरेथुमलगायतका धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु, जिल्लाका बौद्ध गुम्बा, मस्जीद, चर्च, मुर्तिकला बगैचाको संरक्षण र विकासमा जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सार्बजानिक जमिनको संरक्षण, जमिन खण्डिकरणमा नियमन तथा नियन्त्रण, उत्पादनशील भुमिमा संरचना निर्माण कार्यमा नियमन तथा नियन्त्रण गर्दै चुरे क्षेत्रको संरक्षणको लागि बस्ती स्थान्तरण कार्यलाई अगाडि बढाईने, बागमती, कर्रा, राप्ती, सामरी, मनहरी, लोथर, बकैया, सिमात, चौरा, चिरुवा, कुखरेनी लगायतका नदी, खोला, खहरेहरुलाई आबश्यक गुरु योजना तयार गरी तटबन्धन, नियन्त्रण गरी खेती योग्य जमिनहरुमा सिंचाईको ब्यबस्था मिलाई विविध जल उपयोग निति अवलम्वन गरीने, सिमसार क्षेत्रको संरक्षण, झोराको नियन्त्रण तथा ब्यबस्थापन, पदमपोखरी र हटिया क्षेत्रमा जग्गा विकास गरि आधुनिक सुविधा सम्पन्न आवास क्षेत्र निर्माण गरीने, हेटौंडा–गढि मनकामना मन्दिर सम्म केबुलकार निर्माण अगाडि बढाउने, हेटौंडा अस्पताललाई प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नती गराई सुबिधा सम्पन्न बनाउने कार्यलाई पनि प्राथामिकतामा राखिएको छ ।

हेटौंडाको फरेष्ट्री क्याम्पसको १६५ हेक्टरको जंगल र भुटनदेवी सामुदायिक वन उपभोक्ता समुहको जंगललाई संरक्षण तथा पर्यटकिय गन्तब्य बनाउन जैबिक विविधता संरक्षण केन्द्र स्थापनाको लागि सम्बन्धित निकायसँग समन्वय गरी निर्माण प्रारम्भ गर्ने, विद्युत नपुगेका क्षेत्रमा बिद्युतीकरण गरीने, जिल्लालाई सडक मानव मुक्त जिल्लाको रुपमा विकास गरीने, जिल्लावासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन अधुरा योजना सम्पन्न गराउँदै नयाँ योजना अभियानका रुपमा अगाडि लैजाने, केन्द्र तथा प्रदेश तहसँग समन्वय गरी बाग्मती नदि प्रदुषण नियन्त्रण कार्यलाई अगाडि बढाउने र महिलाहरुलाई हिंसा मुक्त बनाई आय आर्जन तर्फ र शसक्तिकरण कार्यक्रमलाई अगाडि बढाउनेलगायतका कार्यहरु गरिने प्रतिबद्धता पत्रमा जानकारी गराइएको छ ।

त्यस्तै प्रदेशस्तरमा भण्डारा–काँकडा–खैराङ जोड्ने मोटरबाटो निर्माण, हेटौंडाबाट ललितपुर, काभ्रे र सिन्धुली जिल्लासँग जोड्ने सडक सञ्जाल निर्माण गर्ने, काठमाडौं– चित्लाङ र काठमाण्डौ–फाखेल सडकलाई स्तरीकरण गरी मकवानपुरको कृषि उत्पादनलाई काठमाडौं पुर्याउन सहज बनाउने, पर्यटन विकास तथा बिस्तारका लागि काठमाण्डौ–चितवन–मकवापुर–पर्सा वन्यजन्तु निकुञ्जसम्मको सडक सञ्जाल निर्माण गर्ने, चन्द्रनिगाहपुर–गंैडाटार–फापरबारीहुँदै ललितपुर जोड्ने सडक, फापरबारी–भरतगञ्ज–निजगढ, धियाँल–निजगढ निर्माण गर्ने, मनहरीदेखि चितवनको पहाडी भाग र धादिङको पृथ्बी राजमार्ग जोडिने गरी चेपाङ मार्ग निर्माण गरीने प्रतिबद्धता पत्रमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*