संयोजक लामिछानेले कमल थापालाई समर्थन गरेपछि नयाँ शक्तिमा खैलाबैला / बैठक बसेर मात्र आधिकारिक धारणा आउँछ : लामिछाने
मकवानपुर, ४ मंसिर । नयाँ शक्तिका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ का प्रत्यक्ष तर्फका उम्मेदवार प्रल्हाद लामिछानेले कमल थापालाई सहयोग गर्ने गरी आफ्नो उम्मेदवारी स्थगन गरेपछि अहिले मकवानपुरको राजनीतिक माहौल तातेको छ । निर्वाचनको तिथि नजिकिँदै जाँदा नयाँ शक्तिले उम्मेदवारी स्थगित गरी कमल थापालाई सहयोग गर्ने गरी गरिएको सहमति सार्वजनिक भएपछि यसले मकवानपुरमा चर्चा चुलिएको छ ।
तर उता, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सोनाम सिं स्याङतानले आफ्नो उम्मेदवारी कायमै रहेको प्रतिक्रिया दिएका छन् । खै यो कसरी भयो, मलाई जानकारी भएन, मेरो उम्मेदवारी कायमै छ, उनले तु खबरसँग भने । उनका अनुसार, पार्टीको यस्तो किसिमको निर्णयबारे जानकारी छैन ।
नयाँ शक्ति मकवानपुरका संयोजक समेत रहेका पूर्व सभासद् लामिछानेले राप्रपा अध्यक्ष थापालाई समर्थनको घोषणा सार्वजनिक भएपछि यसले खैलाबैला मच्चाएको छ । यस सम्बन्धनमा लामिछानेसँग प्रतिक्रिया माग्न खोज्दा उनीसँग सम्पर्क हुन सकिरहेको छैन । लामिछानेले केन्द्रीय समितिको सहमति नमान्ने गरी अहिलेसम्म कुनै प्रतिक्रियासमेत सार्वजनिक गरेका छैनन् ।
बैठक बसेर मात्र आधिकारिक धारणा आउँछ : लामिछाने
नयाँ शक्ति मकवानपुरका संयोजक प्रल्हाद लामिछानेले केन्द्रीय स्तरमा नेताहरुबीच मकवानपुरको प्रतिनिधिसभा १ मा कमल थापालाई समर्थन गर्ने गरी भएको सहमति आफूले पनि पछि थाहा पाएको बताएका छन् ।
सो सहमति थाहा पाएपछि यसबारे छलफल गर्न आफू काठमाडौँ गइरहेको लामिछानेले बताए । पार्टीको केन्द्रीय स्तरबाट जारी विज्ञप्तीमा हामीलाई निर्णय कार्यान्वयनका लागि निर्देशन नभई अपिल मात्र गरिएकोले सो बिषयमा आफ्नो पार्टीको जिल्ला बैठक बसेरमात्र आधिकारिक धारणा सार्वजनिक गर्ने लामिछानेको भनाइछ ।
यतिबेला आएर राप्रपा र नयाँ शक्तिको केन्द्रीय स्तरका दुई नेताले जारी गरेको विज्ञप्ती आफूले पनि पढेको लामिछानेले बताए । जिल्लाको बैठक पर्सीलाई राख्ने र थप धारणा सार्वजनिक गर्ने लामिछानेको भनाई छ ।
बेलुकी ७ः४५ मा पुनः सम्पादन गरिएको ।