निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी

तु खबर संवाददाता
२०७४ मंसिर ६,बुधबार १३:४७

— तीर्थ भट्टराई/केदार मगर

दिक्तेल, खोटाङ, ६ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी ।

पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लागि हुन लगेको यो निर्वाचनमा आफ्ना जनप्रतिनिधि चुन्न तम्तयार भएर बसेका छन् । उता, निर्वाचन आयोग तथा स्थानीय प्रशासन सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सु–व्यवस्थित र शान्तिपूर्वक हुनेमा ढुक्क देखिन्छन् ।

कुल एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र कायम गरेको छ भने प्रदेशसभाका लागि दुई क्षेत्र । यसअघि भएका संसदीय निर्वाचनमा भने खोटाङका दुई क्षेत्रबाट दुईजना सांसद चुनिने व्यवस्था थियो ।

निर्वाचनको दिन नजिकिँदै गर्दा विभिन्न दलबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार आफ्नो अन्तिम चुनाव प्रचारप्रसारका क्रममा ग्रामीण भेगतिरै केन्द्रित भएका छन् ।

बाहिरबाट हेर्दा शान्त नै देखिएको यस जिल्लाको वस्तुस्थिति कस्तो छ र निर्वाचनको तयारी के कसरी भइरहेको छ, शान्ति सुरक्षाको स्थिति कस्तो छ भनी प्रश्न गर्दा खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो, “जिल्लामा निर्वाचनको पूर्ण तयारी भइसकेको छ । कर्मचारी तथा सुरक्षाकर्मी खटाउने काम भई मतपत्र तथा मतपेटिका सम्बन्धित केन्द्रमा पुग्न थालेका छन् ।”

उहाँले जिल्लाको शान्ति सुरक्षाको स्थिति मजबुत रहेको र जिल्लास्थित दलहरुको आपसी संयमले हालसम्म कुनै अप्रिय घटना नभएको बताउँदै मतदान शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रजिअ अधिकारीले दुर्गमस्थानका मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य भने चुनौतिपूर्ण हुने र हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले कर्मचारी, मतपत्र र मतपेटिका मतदान केन्द्रमा पठाउने कार्य भइरहेको र यथासमयमा पुग्ने बताउनुभयो ।

जिल्लाका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बानियाँ तथा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जिल्लामा सुरक्षा व्यवस्था मजबुत रहेको र सुरक्षाकर्मी मतदान केन्द्रमा खटाइसकिएको जानकारी दिनुभयो ।

जिल्लामा ४६० नेपाली सेना, ३१९ सशस्त्र प्रहरी, ८२६ नेपाल प्रहरी र ९८२ म्यादी प्रहरी गरी कुल दुई हजार ५८७ सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अधिकारीकाअनुसार जिल्लामा कुल १३६ मतदानस्थलका १७९ मतदान केन्द्रमा एक हजार ४३२ कर्मचारी खटाइएको छ ।

सशस्त्र प्रहरी जिल्लाका दशवटै स्थानीय तहका १२ ठाउँमा खटाइएको छ । नेपाली सेना भने, जिल्लाका दश स्थानीय तहमा ३३ जनाका दरले ३३० जना खटाइएको प्रजिअ अधिकारीले बताउनुभयो । जिल्लाका २८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये दुई मात्र नगरपालिका रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ रहेका छन् । प्रतिनिधिसभाको एक सिट र प्रदेशसभाको दुई सिटमा जिल्लामा क्रियाशील दश राजनीतिक दलबाट १९ जना उम्मेदवार हुनुहुन्छ । जसमध्ये एक मात्र महिला उम्मेदवार हुनुहुन्छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई तथा नेपाली काँग्रेसबाट पूर्व सांसद सरस्वती बजिमय प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

प्रतिस्पर्धी अन्य दलमा संघीय समाजवादी फोरम नेपालबाट कृष्णकुमार राई, नयाँ शक्ति नेपालबाट मदन राई र राप्रपा (प्रजातान्त्रिक)बाट धर्मराज पोखरेल उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राई क्षेत्र नम्बर १ (क) र क्षेत्र नम्बर २ (ख)मा गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व सभाषद रामकुमार राई (पासाङ) उम्मेदवार हुनुहुन्छ भने, नेपाली काँग्रेसबाट (क) मा सुवासकुमार पोखरेल र (ख)मा विष्णुकुमार राई रहनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, काँग्रेसले चार र माओवादी केन्द्रले एक तहमा जित हासिल गरेको थियो । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेदवार र काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।-(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*