कमल थापा हाइ प्रोफाइल तर ‘डेट एक्सपायर’
सधैं सत्ता र शक्तिकै वरिपरि रहेका राप्रपा अध्यक्ष कमल थापा यसपटक मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने अन्तिम तयारीमा छन् । १ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार हुने तयारीमा रहेको सार्वजनिक भएपछि थापाले मकवानपुरलाई के दिए भनेर बहस सुरु भएको छ ।
सालिन स्वभावका थापा अनेक राजनीतिक दाउपेचले सधैँ सत्तामा रहे । राजाको प्रत्यक्ष शासनका बेला पावरफूल मन्त्रीसमेत रहेका उनै थापा अहिले गणतन्त्रमा पनि उस्तै रवाफका साथ हिँडिरहेका छन् । हाइ प्रोफाइल लिडरको रुपमा रहेका थापाले २०४५ सालमा मरिचमान सिंह नेपालको प्रधानमन्त्री हुँदादेखि लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवा, उतिबेलाका शाही शासनका समयमा तथा त्यसबाहेक केपी ओली, जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दहालसमेतको प्रधानमन्त्रीत्वकालमा शक्तिशाली मन्त्रालयहरुको जिम्मेवारी पाइसकेका छन् ।
०५२ पछि देउवा, चन्द र थापा प्रधानमन्त्री हुँदा कमल थापाले कानून, स्थानीय विकास, परराष्ट्र र कृषिजस्ता महत्वपूर्ण मन्त्रालय चलाए । उनी स्वास्थ्य मन्त्रीसमेत भइसकेका छन् । भौतिक योजना तथा आवास मन्त्रालय समेत उनले हाँकिसकेका छन् । त्यसैगरी थापाले ०६० मा समेत गृह, परराष्ट्र, संचार चलाइसकेका छन् । शाही सरकारका शक्तिशाली मन्त्री भएका थापा ओली, दहाल र अहिले पछिल्लो पटक देउवाको नेतृत्वमा समेत सत्ताकै वरिपरि छन् । यसबीचमा उनी तीन पटक उपप्रधानमन्त्री भइसकेका छन् ।
मंसिर २१ मा तोकिएको प्रदेश र संघीय निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने र त्यो पनि नेपाली काँग्रेसको समर्थनमा हुने चर्चा भएपछि थापाका बारेमा मकवानपुरमा बहस छ । एक पक्षले थापाजस्तो हाइ प्रोफाइल नेतालाई मकवानपुरेले फेरि बिजयी गराउनु पर्ने मत राखिरहेका छन् भने अर्को पक्षले उनी डेट स्पाएर नेता भइसकेकोले उनको विकल्प खोज्नुपर्ने मत राखेका छन् ।
थापाका समर्थकहरु कमल थापाले मकवानपुरमा धेरै काम गर्न खोजेको तर राजनीतिक दाउपेचका कारण सफल नभएको दावी गर्छन् । थापाका विपक्षीहरु भने सधैँभरि थापाले आफू शक्तिमा पुग्ने काममा मात्र ध्यान दिएको आरोप लगाउँछन् । २०४३ र ०५१ मा मकवानपुरका १ नम्बर क्षेत्रका बासिन्दाले थापालाई बिजयी गराए । थापाले हेटौंडा काठमाडौँ साझा यातायात चलाएको, पालुङमा दूरसंचार रिपिटर टावर स्थापना गर्न लगाएको र त्यसबाहेक हेटौंडालाई क्षेत्रीय सदरमुकाम बनाउन लागिपरेको तर नसकेको बताउनेहरु धेरै छन् । थापाले मकवानपुरको विकासमा सिन्को समेत नभाँचेको आरोप लगाउनेहरु पनि कम छैनन ।
थापाले जति मन्त्रालय चलाए ती मन्त्रालय सम्बन्धित एउटा एउटा काम मात्र गरिदिएको भए मकवानपुर अहिले निकै विकसित भइसक्ने थियो भन्नेहरु निकै छन् । आसन्न निर्वाचनमा फेरि उम्मेदवार भएका थापा अब पनि कति पटक उम्मेदवार हुने अभिलाषा राख्छन् त्यो भने हेर्न बाँकी छ ।