डीना उपाध्यायको राजनीतिक यात्रा : जेलदेखि चलखेलसम्म
हेटौँडा, १६ कात्तिक । नेपाली काँग्रेसकी महालक्ष्मी डीना उपाध्याय यही मंसीर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छिन् ।
वि.सं. २०२३ साल असोज २२ गते चितवनको चैनपुरमा जन्मिएकी डीना हाल नेपाली कोँग्रेसकी केन्द्रीय सदस्य छिन् । यस अघि उनी जलस्रोत राज्यमन्त्री भएकी थिईन् । उनका बुवा ईश्वरी दत्त अर्याल र आमा पार्वती अर्याल हुन् ।
ग्रामिण विकास विषयमा स्नातकोत्तर अध्ययन गरेकी डीना वि.सं. २०३६ सालदेखि राजनीतिमा सक्रिय छिन् । उनका ‘संविधान र नेतृत्व’, ‘युवा शक्ति र नेपालको विकास’, ‘महिला,समाजवाद र वि.पी.’ लगायतका कृतिहरु प्रकाशित छन् ।
चीन, बेलायत, डेनमार्क, स्वीडेन जस्ता १ दर्जन देशको भ्रमण गरेकी डीना नेपाली राजनीतिमा स्थान बनाउन पछिल्लो समय निकै कसरतका साथ अघि बढ्दै आएकी छिन् ।
करिब १ वर्ष जेल जीवनसमेत बिताएकी डीनालाई पार्टीले समानुपातिक तर्फ को उम्मेदवार बन्न आग्रह गरेको थियो । तर, सुरुवातदेखि नै प्रत्यक्ष उम्मेदवार बन्न पार्टी केन्द्रमा लवी गरिरहेकी उनी अन्ततः लामो राजनीतिक कोसिसपछि प्रत्यक्ष उम्मेदवार बनेकी छिन् । प्रत्यक्ष तर्फको उम्मेदवार बन्न उनले पार्टीभित्रै ठूलै लडाई लड्नु परेको थियो ।