मकवानपुरमा राप्रपालाई झट्का, काँग्रेसले तोड्यो गठबन्धन

तु खबर संवाददाता
२०७४ कार्तिक १८,शनिबार ११:२९

हेटौँडा, १३ कात्तिक । मकवानपुरमा राप्रपा एक्लै परेको छ । नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै राप्रपासँग कुनै पनि हालतमा गठबन्धन नगर्ने भन्दै एक्लै चुनाव लड्ने निर्णय गरेपछि राप्रपा एक्लै भएको हो ।

नेपाली काँग्रेसको जिल्ला कार्य समितिले विभिन्न चरणका छलफलपछि मकवानपुरमा राप्रपासँग तालमेल गर्न नसकिने जनाएको हो । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले काँग्रेस र काँग्रेसका मतदाताहरुलाई समेत अलमल्याउने कार्य गरेको काँग्रेसका हेटौँडा उपमहानगरपालिकासभापति आनन्दराम पराजुलीले आरोप लगाए ।

उनले पार्टीले माने पनि थापालाई भोट दिन मतदाताले नमान्ने जिकिर गरे । उनले थापाको मुसा प्रवृत्ति चित्त नबुझेको बताए । दशकौँ राजनिती गर्दा समेत मकवानपुरको लागि थापाले केही नगरेको उनको दाबी छ । मतदाताले समेत १ नम्बर क्षेत्रमा ईन्द्रबहादुर बानियाँको माग गरेको भन्दै उनले गठबन्धनका बारेमा भन्न पनि लाज लागेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु प्रसाद लामिछानेले राप्रपा सधैँ काँग्रेसको विरोधी र बाधक रहेको बताए । काँग्रेससँग गठबन्धन गर्दा समेत कमल थापाले कुनै पनि हालतमा चुनाव नजित्ने देखिएको भन्दै केन्द्रको निर्णयलाई सच्याउन आफुहरु डेलिगेसनमा जाने समेत उनले बताए । कमल थापाले काँग्रेसलाई नै धक्का दिने निर्णयहरु गर्दै आएको समेत उनले आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल तरुण दल नगर सभापति सुनिल गिरीले केन्द्रले जे भन्यो त्यही मान्नुपर्छ भन्ने कुनै बाध्यता नभएको बताए । पार्टीले केन्द्रबाट ह्विप जारी गरे पनि कुनै पनि हालतमा तरुण दल नगर समितिले गठबन्धन नमान्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*