मौन अवधिमा मत माग्दै उम्मेदवारहरु, कार्यकर्ताहरु एसएमएसमा व्यस्त

तु खबर संवाददाता
२०७४ मंसिर २०,बुधबार १३:३३

मकवानपुर, २० मंसिर । मौन अवधिमा पनि मकवानपुरमा विभिन्न पार्टीका उम्मेदवारहरु आन्तरिक रुपमा सक्रिय देखिएका छन् । मौन अवधि सुरु भएपछि सार्वजनिक सभा र घरदैलो गर्न नपाईने भएपछि राजनीतिक दलका नेता तथा उम्मेदवारहरु आन्तरिक रुपमा भोट माग्न ब्यस्त छन् ।
सार्वजनिक रुपमा कार्यक्रम नगरेपनि बिभिन्न समुहमा भेटघाट गर्दै उम्मेदवारहरु आप्mनो पक्षमा मतदाता आकर्षित गर्न अन्तिम कसरतमा जुटेका हुन् । त्यस्तै विभिन्न पार्टी निकट नेता तथा कार्यकर्तासहित पार्टी निकट पत्रकारहरु भने फेसबुक,ट्विटरजस्ता सामाजिक सञ्जालमा ईन्बक्समा म्यासेज गर्दै सुटुक्क मत मागिरहेका छन् । निर्वाचन आयोगले फेसबुक तथा ट्विटर लगायतका टाईमलाईनमा निगरानी राखेको डरले उनीहरु म्यासेन्जर तथा एसएमएसको प्रयोग गरि भोट मागिरहेका छन् ।
कतिपयले घुमाउरो पारामा सांकेतिक बिम्ब तथा शब्दको प्रयोग गरि सामाजिक सञ्जालमै भोट मागेका छन् ।

त्यस्तै मकवानपुरमा मतदाता र मतदान केन्द्रको सुरक्षा मजबुत बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले म्यादी,जनपथ,शसस्त्र प्रहरी,सेना र राष्ट्रिय अनुसन्धानका गरी तीन हजारभन्दा बढि सुुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । ‘मतदातालाई घरदेखि बाटो र मतदान केन्द्रसम्म सुरक्षाको प्रत्याभुति हुने गरी सुरक्षाकर्मी परिचालन गरेका छौं’,उनले भने,‘ढुक्कका साथ आफ्नो मताधिकार प्रयोग गर्न म सबै मतदातालाई अनुरोध गर्छु ।’

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि मंसिर २१ गते हुने निर्वाचनमा मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताले मतदान गर्न पाउनेछन् । तीमध्ये करिब २७ हजार मतदाता स्थानीय निकाय निर्वाचनपछि थपिएका हुन् । थप भएका मतदाताले कस्लाई रोज्छन् भन्नेमा जित निर्भर हुने आँकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*