हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई साउदी अरबको आग्रह
रियाद, २० मङ्सिर । साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई आग्रह गरेको छ ।
यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर उहाँको हत्याको बारेमा भने साउदीले कुनै धारणा सार्वजनिक गरेको छैन ।
साउदी अरब सरकारले सो आग्रह गरेको हो । साउदी अरेबियाको मन्त्रिपरिषदले विज्ञप्ति जारीगरी इरानको सहयोग प्राप्त गरेर हुथीहरुले यमनमा विखण्डनकारी राजनीति गरेकोले उनीहरुबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको हो ।
यसै हप्तामात्र यमनका पूर्व राष्ट्रपति सालेहको त्यहाँ हत्या भएको छ । उहाँले यमनमा करिब ३३ बर्ष शासन चलाउनुभएको थियो । सालेहले सन् २०१४ पछि यमनी सिया हुथी विद्रोहीकै सहयोग लिनुभएको थियो ।
सालेह सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको यमनको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिनुभएको बताइएको छ । यो कुराको पुष्टी यमनको गृह मन्त्रालयले गरेको थियो ।
पूर्व राष्ट्रपति सालेहले केही दिनमात्र अघि इरानको समर्थनमा रहेका हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गर्नुभएको थियो । तर उहाँले तिनै विद्रोहीको सहयोगमा यमनको राजधानी सानामा तीन वर्ष जति शासन सम्हाल्नुभएकोे थियो । –(रासस/एएफपी)