मकवानपुरमा उम्मेदवारहरुले कहाँ–कहाँबाट भोट दिँदै छन् ?

तु खबर संवाददाता
२०७४ मंसिर २१,बिहीबार ०७:२८

बलराम पुडासैनी/चन्द्र घलान
हेटौँडा, २१ मंसिर । मकवानपुरमा बिहानैदेखि चुनावी चहलपहल शुरु भएको छ । मतदाताहरुसहित उम्मेदवारहरु समेत मतदान गर्नका लागि मतदान केन्द्रतर्फ जान शुरु गरेका छन् ।
मकवानपुरका शिर्ष नेताहरु पनि यतिखेर मतदानका लागि आतुर छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित वंशगोपाल बहुमुखी क्याम्पासबाट मतदान गर्दै छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनकै तर्फबाट प्रतिनिधिसभा क्षेत्र २ की उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित सिदार्थ उच्चमावि मतदान केन्द्रबाट मत हाल्नेछन् ।
त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ ख का प्रदेशसभा उम्मेदवार एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ दोभानचौरमा अवस्थित कमला निमाविबाट मतदान गर्नेछन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वासुदेव सभागृहबाट मतदान गर्ने छन् । त्यस्तै वाम गठबन्धनकै तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद दाहालले कान्ति मावि ठिगनबाट मतदान गर्नेछन् । उनी मतदान स्थलमा हिजै पुगीसकेका छन् ।

वाम गठबन्धनकै मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनेका डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा अवस्थित त्रिभुवन मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै वाम गठबन्धनबाट नै मकवानपुर क्षेत्र नम्बर २ को क का प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले हेटौँडा–१३ मा अवस्थित कालिका निमावि मतदान केन्द्रबाट मतदान गर्नेछिन् । त्यस्तै वामकै मकवानपुर क्षेत्र नम्बर १ को क का प्रदेशसभा सदस्य उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले साविकको फापरबारी ३ हाल बाग्मती गाउँपालिका वडा नम्बर ६ सिता निमाविबाट मतदान गर्नेछन् ।

त्यस्तै नयाँ शक्ति पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार ध्रुवराज ढकालले थाहा नगरपालिका वडा नम्बर २ सरस्वती आधारभूत विद्यालयबाट मतदान गर्दैछन् भने अर्का प्रदेशसभा सदस्य प्रकाश मैनालीले भिमफेदी गाउँपालिका वडा नम्बर ९ बागमारामा रहेको बाख्रापालन श्रोतकेन्द्रबाट मतदान गर्नेछन् ।

त्यस्तै विवेकशिल साझा पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सरोज कोईरालाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वाशुदेव सभागृहबाट मतदान गर्नेछन् । सोही पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ ख की प्रदेशसभा उम्मेदवार प्रतिभा डंगोलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ बाट मतदान गर्नेछिन् । विवेकशिलकै मकवानपुर क्षेत्र नम्बर १ को ख का प्रदेशसभा सदस्य उम्मेदवार मुकेश चौधरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बाट मतदान गर्नेछन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताले मतदान गर्दैछन् । तीमध्ये करिब २७ हजार मतदाता स्थानीय निकाय निर्वाचनपछि थपिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*