म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी

बाबियाचौर, म्याग्दी, २२ मंसिर । म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र क बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको राससले जनाएको छ ।
केसीले १४ हजार ७०४ र उहाँका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसक्नु भएका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बन्नुभएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र ९क०मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो ।
यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र ख बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ । नेकपा एमाले र ९माओवादी केन्द्र०को वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गर्नुभएको हो ।
दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बन्नुभएकी एमालेकी पुनले १० हजार ८६८ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिनुभयो ।
म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र ९क० को मतगणनामा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ ।