चलचित्र ‘माइ लभ’ भुकम्प र प्रेमको दस्तावेज (मंसिर २९ गतेदेखि सिनेमा घरमा)
मकवानपुर, २६ मंसिर । नेपाली र जापानिज भाषामा तयार पारिएको नेपाली कथानक चलचित्र ‘माइ लभ’ मंसिर २९ गतेदेखि देशभरका सिनेमाघरहरुमा प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा मंगलबार हेटौँडामा आईपुगेको चलचित्र टोलीले ‘माइ लभ’ लाई नेपालमा गएको विनाशकारी भुकम्प र भुकम्पमै हराएको मायाको दस्तावेजको रुपमा व्याख्या गरेका छन् ।
कार्यक्रममा बोल्दै चलचित्रका छायाँकार गौरीशंकर ध्वजुले भूकम्पका बेला काठमाडौँमा ऐतिहासिक धरहरा भत्किएको तथा अन्य थुप्रै वास्तविक तथा मिनिएचर प्रविधिद्वारा निर्मित भुकम्पका दृश्यहरु समावेश गरिएको बताए । भुकम्पका बेला धरहरा ढलेको दृश्यलाई करिब करिब उस्तै देखाउने प्रयास भएको समेत बताए ।
चलचित्रलाई डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् । डा. तोसिआकी इतोहले यस अघि ‘शिरिषको फुल’ नामक चलचित्र निर्देशन गरेका थिए । चलचित्रमा नेपाली कलाकारहरु गणेश लामा, शितल श्रेष्ठ, चाँदनी मोक्तानका साथै जापानिज कलाकार युची हयाता, रिबोन मिजुतानी लगायतको अभिनय देख्न सकिन्छ । आधा भाग नेपाल र आधा भाग जापानमा छायाँकन गरिएको चलचित्रमा जापानको समृद्धि पनि देख्न समेटिएको छ ।
‘चलचित्र हेर्नेमध्ये एक जनालाई जापान घुम्ने अवसर’
कार्यक्रममा बोल्दै चलचित्रका निर्माता एवं नायक गणेश लामाले चलचित्रमा विनाशकारी भुकम्पका समयमा नेपालीहरुले भोगेका पिडा र भोगाईका साथै नेपालीहरुले देखाएको साहसको कथा समेत समेटिएको बताए । उनले चलचित्र हेर्नेमध्ये एक जना भाग्यशाली दर्शकलाई जापान घुम्न जाने अवसर दिईने स्किम रहेको समेत जानकारी गराए ।
उनका अनुसार यो चलचित्र हेर्ने दर्शकहरुले टिकट नं र हलको नामसहित ‘माइ लभ’को फेसबुक पेजमा इनबक्स गर्नुपर्नेछ । यसरी मेसेज गर्ने एक जना भाग्यशाली दर्शकले आगामी अप्रिल २५ तारिखमा जापानमा हुन लागेको ‘माइ लभ’को प्रिमियरमा सहभागी हुने मौका पाउने छन् । उनले यो चलचित्रलाई नेपाली कथानक चलचित्र ‘कठपुतली’ को सिक्वेलको रुपमा निर्माण गरिएको समेत बताए । चलचित्र करिब ३ करोड लगानीमा बनेको हो ।
चलचित्रकी नायिका शितल श्रेष्ठले भुकम्पमा हराएकी प्रेमिकाको रुपमा अभिनय गरेकी छिन् । उनको यो पहिलो चलचित्र समेत हो । त्यस्तै अर्की नायिका चाँदनी मोक्तानले नर्सको भुमिकामा अभिनय गरेकी छिन् । नायिका मोक्तानले यसअघि नै तामाङ चलचित्रहरुमा अभिनय गरेर चर्चा पाईसकेकी छिन् ।
चलचित्र पत्रकार संघ मकवानपुर शाखाको आयोजना तथा संघका मकवानुर जिल्ला अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका क्यामरा छायाँकार गौरीशंकर ध्वजु, जनता टेलिभिजनका कार्यकारी निर्माता दिपेन्द्र दोङ तामाङ, चलचित्रका कलाकारहरुका साथै चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।