आगलागीमा २५ लाखभन्दा बढी क्षति
काठमाडौँ, २९ मंसिर । मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा २५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार काठमाडौँ, खोटाङ,बारा, धनुषा र सप्तरीमा आगलागी हुँदा क्षति भएको हो ।
काठमाडौँ महानगरपालिका–२६ पवित्रानगर बस्ने कुमार श्रेष्ठको एकतले जस्ताको टहरामा विहीबार करेन्ट सर्ट भई आगलागी हुदाँ करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बस्ने मित्रमान राईको खरको छानो भएको तिनतले घरमा विहीबार आगलागी हुदाँ नगद ३० हजार रुपैयाँ ,२ तोला सुन, ७ तोला चादी र घर नजिकै रहेको खरको छानो भएको एकतले मतान समेत जलेर करीव १६ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परेर १४ वटा चौपायाको समेत जलेर मृत्यु भएको थियो ।
बाराको फेटा गाउँपालिका–४ बतरा बस्ने किशोरी साहको धानको कुन्यूमा विहीबार आगलागी हुदाँ ६० क्विन्टल बराबरको धान र पराल जलेर करीव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१६ पुल्चोक स्थित ललित कुमार मण्डलको खरको छानो भएको कुखुरा नरहेको खाली फर्ममा विधुत सर्ट भई आगलागी हुदाँ करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–४ बस्ने शंकर दासको दास हार्डवयर पसल अगाडी राखिएको प्लाष्टिकको पाईपमा शुक्रबार आगलागी हुदाँ करीव २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।