के कृष्ण दाहाल बन्लान् त मन्त्री ?
मकवानपुर, ३ पुस । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई पराजित गर्दै निर्वाचित भएका कृष्ण प्रसाद दाहाल मकवानपुरे राजनीतिमा राम्रो दख्खल भएको नाम हो । कमल थापालाई ३ पटकसम्म हराएका उनी निर्वाचित भएसँगै अब उनी मकवानपुरको प्रतिनिधित्व गर्दै मन्त्री बन्न सक्लान् कि नसक्लान् भन्ने चर्चा मकवानपुरमा चल्न थालेको छ ।
यस अघि २०७० सालको चुनावमा विजयी भएपनि केबल सांसदमै खुम्चिएका मकवानपुरे वाम नेताहरुभन्दा माथि उठेर उनले कुनै मन्त्रालयको जिम्मेवारी बोक्न सक्लान त ? यो मकवानपुरवासीको अहिलेको प्रश्न हो । अहिलेसम्म मन्त्री पदमा नपुगेका दाहाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य छन् ।
दाहालले ४० हजार ६ सय ३१ मतसहित राप्रपाका थापालाई पराजित गरेका थिए भने थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गरेका थिए । २०४८ सालको आम निर्वाचन र २०५६ सालको संसदीय निर्वाचनमा पनि दाहालले थापालाई हराएका थिए ।
कृष्णप्रसाद दाहाल पुराना कम्युनिष्ट नेता मानिन्छन् । २०२० सालको असारमा बकैया गाउँपालिकामा जन्मिएका नेता दाहालले निम्न माध्यामिक तहसम्मको शिक्षा जनता मावि फापरबारी र माध्यामिक तहको शिक्षा जनज्योती मावि रौतहटबाट लिएका हुन् । हाल हेटौंडा ५ मा बसोबास गर्दै आएका दाहालले विरगंजबाट आइएसम्मको शिक्षा लिएका छन् ।
तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीतिमा उदाएका दाहाल २०४८ सालको चुनावमा र २०५६ सालको चुनावमा मकवानपुरबाटै सांसद निर्वाचित भइसकेका छन् ।
यस अघि सत्ताकै वरिपरि रहेर विभिन्न मन्त्रालय सम्हालेका कमल थापा समेत अब रिङ आउट भएका छन् भने ईन्द्र बानियाँ प्रदेशतिरै हाबी हुनेछन् । अब बाँकी रहेका मध्ये उनी र विरोध खतिवडाले कुनै मन्त्रालयको जिम्मा पाउने छन् कि छैनन् भन्ने चर्चा मकवानपुरमा छ ।