नक्कली समाचार लेख्नेलाई गुगलले ठिक पार्ने
एजेन्सी । आजभोलि विभिन्न वेबसाईटहरुले गलत समाचार सम्प्रेषण गरेको तपाई हामीलाई जानकारी नै छ । एकआपसमा घृणा तथा द्वेष फैलाउने र राजनीतिक दल, संघसंस्था, आस्था, धर्म, वर्गका आधारमा समाजलाई नै अशान्त तुल्याउने कार्य गर्न मानिसहरु अलिकति पनि नहिच्किचाउने परिपाटी हाबी भएको देखिन्छ ।
अझ समाचार पोर्टलको भ्यू बढी हुने नाममा गलत समाचारलाई प्राथमिकता दिने चलन पनि विभिन्न अनलाईनहरुले गर्ने गरेका छन् । तर अब अवस्था त्यस्तो नरहने भएको छ । गलत समाचार लेख्ने वेबसाईटलाई गुगलले ठिक पार्ने योजना बनाएको छ ।
फेसबुकले पहिले नै आफ्नो वेबसाइटमा फेकन्यूज रोक्नका लागि विभिन्न गम्भीर कदमहरु उठाइसकेको छ र अब गुगलले पनि यस विषयमा सख्त रबैया अपनाएको छ । सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले यस सन्दर्भमा आधिकारिक रुपमा केही बताएको छैन । तथापि, उसले समाचारको लागि विद्यमान मापदण्ड अपडेट गरेको छ ।
गुगलले आफ्नो न्यूज पोर्टल गुगल न्यूजमा फेक न्यूज रोक्नका लागि योजना बनाएको छ । यसको गाइडलाइन पेजमा एक नयाँ प्वाइन्ट जोडिएको छ, जसमा गुगलले न्यूज पोर्टलहरुलाई आफ्नो वास्तविक लोकेसन नलुकाउन आग्रह गरेको छ । यदि कुनै वेबसाइटले आफ्नो लोकेसन हटाएमा त्यसलाई गुगल न्यूजमा देखाइने छैन ।
यसअघि गत अप्रिलमा गुगलले आफ्नो सर्च इन्जिनमा फेकन्यूज रोक्नका लागि पहिलो टूल ल्याएको थियो । उक्त टूलमार्फत गुगल प्रयोगकर्ताले अटो कम्प्लिट फंक्सनको माध्यमबाट गलत तथ्यमा आधारित तथा घृणा फैलाउने खालका समाचार सामग्रीहरुको बारेमा गुगलमा उजुरी गर्न सक्दछन् । यसबाट गुगललाई गलत सूचना दिने सामाग्रीलाई रोक्ने तथा सही तथ्ययुक्त आलेखहरु पाठकसम्म पुर्याउनमा निकै सहयोग मिल्नेछ ।