मलेसियामा काम गर्नेलाई खुशीको खबर : अब तिर्नुपर्दैन लेबी
एजेन्सी, ६ पुस । विभिन्न देशबाट मलेसियामा रोजगारीका सिलसिलमा पुगेका विदेशी कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ । आफुले काम गरेर कमाएको पैसा समेत लेबीमा काटिने भएपछि हैरानी खेपिरहेका नेपाल सहितका विदेशी मुलुकका कामदारहरुलाई यसले खुशी तुल्याएको छ ।
सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्ने छन् । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ ।
यस अघि कामदारहरुले मलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्ने अवस्था थियो । विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।