साढे ८१ लाख नेपाली गरिब भएको खुलासा
मकवानपुर, ६ पुस । नेपालमा अझै पनि साढे ८१ लाख नागरिकहरु अझै पनि गरीबीको रेखामूनि रहेको तथ्य बाहिर आएको छ । सरकारी अध्ययनले साढे ८१ लाख अर्थात नेपालको कुल जनसंख्याको २८.५ प्रतिशत मानिसहरु गरीबीको रेखामुनी रहेको देखाएको हो । नयाँ विधी अनुसार गरिएको सर्वेक्षणले प्रतिहजार मानिसमा २८६ नेपाली गरीबीको रेखामूनी रहेको देखाएको छ । यस आधारमा कुल २ करोड ८६ लाखमा लगभग ८१ लाख ५१ हजार मानिस गरीब छन् ।
यसअघि केन्द्रीय तथ्यांक विभागले गरीबीको दर २१.८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । भूकम्प र नाकाबन्दीपछि यो दर बढेर २५ प्रतिशत पुगेको अनुमान गरिएको थियो ।
सन् २००६ देखि सन् २०१४ सम्मको तथ्यांकलाई गणनामा लिइएको छ । नेपालका १२ हजार घरधुरी र ५४ हजार मानिसहरु गणनामा लिइएको थियो । अध्ययन अनुसार नेपालको प्रदेश २ र ६ मा गरीबी दर उच्च रहेको देखिएको छ ।
प्रदेश ६ मा ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत मानिस गरीब छन् । प्रदेश ३ मा १२.२४ प्रतिशत, प्रदेश ४ मा १४.१९ प्रतिशत, प्रदेश १ मा १९.६७, प्रदेश ५ मा २९.९२ प्रतिशत र प्रदेश ७ मा ३३.५६ प्रतिशत गरीब रहेको तथ्यांकमा उल्लेख छ ।