३ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा स्थापितको दाबी
काठमाडौँ, ६ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनुपूर्व नै ३ नम्बर प्रदेशको मुख्यमन्त्री हुन्छु भन्नेहरुको बारेमा मिडियामा चर्चा थियो । काँग्रेसले जितेमा पूर्व गृहराज्यमन्त्री एवं हाल मकवानपुरमा प्रदेशसभा सदस्य निर्वाचित इन्द्रबहादुर बानियाँले पनि आफु मुख्य मन्त्री हुनसक्ने दाबी गरेका थिए ।
तर अहिले वाम गठबन्धनको बहुमत नै आएपछि भने काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा औपचारिक रुपमा दावी पेश गर्न भ्याएका छन् । उनले आफू पार्टी निर्णय वा संसदीय दलको चुनाव दुवै प्रक्रियाबाट मुख्यमन्त्रीको दाबेदार बन्ने बताएका दाबी समेत गरेका छन् ।
यस अघि ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम चर्चामा थियो । तर बुधवार साँझ पत्रकारहरुसँग स्थापितले आफुले मेयर हुँदा गरेका कार्य र आफु सिनियर भएको हवाला दिँदै आफु नै सो पदको दाबेदार भएको बताए । उनले आफुलाई पुष्पकमल दाहालको मित र केपी ओलीको चेलो भन्दै आफुले चमत्कारिक काम गर्ने समेत दाबी गरेका छन् ।