मउवा संघ निर्वाचनमा गठबन्धनको पक्षमा छैनौँ : पराजुली
मकवानपुर, ११ पुस । नेपाली काँग्रेसका हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले यही पुष १५, १६ र १७ गते हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस राजनीतिक गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
‘व्यवसायिक संस्थाहरु स्वतन्त्र र व्यवसायिक नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । संस्थामा राजनीति घुसेपछि संस्थाको छवि बिग्रिन्छ’, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका पराजुलीले भने,‘यसअर्थ मउवा संघको निर्वाचनमा स्वतन्त्र एवम् उद्योगी व्यवसायीको हकहितमा काम गर्न सक्ने व्यक्ति चुनिनुपर्छ । काँग्रेस कुनै गठबन्धन बनाउने वा गठबन्धनलाई सहयोग गर्ने पक्षमा छैन ।’
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरुको समर्थन विभिन्न उम्मेदवारलाई रहने चर्चा चल्दै गर्दा पराजुलीले उद्योगी व्यवसायीको संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका हुन् । उनले काँग्रेससहित अन्य दलका नेताहरुलाई उद्योगी व्यवसायीको संस्थामा फोहोरी राजनीति नगर्न अनुरोध समेत गरे । ‘काँग्रेसका केही नेताहरु मउवा संघको निर्वाचनमा केही व्यक्ति बोकेर हिँडिरहेका पनि देखिएको छ । त्यो वहाँहरुको व्यक्तिगत कुरा हो’, उनले भने, ‘काँग्रेसले कसैलाई समर्थन गर्ने आधिकारिक निर्णय गरेको छैन ।’
मउवा संघको निर्वाचनको क्रममा अध्यक्ष, उपाध्यक्ष वा कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएका कुनै व्यक्तिले नेपाली काँग्रेसको समर्थन छ भनेर हल्ला गरेको वा बुझेको भए केवल भ्रम मात्र भएको उनले बताए । ‘कुनै पार्टीका केही नेतालाई बोकेर हिँडेको भरमा व्यवसायिक संस्थाको चुनाव जितिन्छ भन्ने भ्रममा पर्नु गलत हुनेछ’,उनले थपे, ‘संस्थाको मर्यादालाई ख्याल राखेर व्यवसायिक हकहितमा काम गरेको छ भने पक्कै त्यो व्यक्तिले चुनाव जित्नेछ । काँग्रेसले सहयोग र समर्थन गर्न परेको खण्डमा त्यस्तै व्यक्तिलाई सहयोग गर्नेछ ।’
मकवानपुर उद्योग वाणिज्य संघसहित निर्वाचन नजिकिँदै गरेको नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, टेम्पो तथा मझौला यातायात व्यवसायी संघलगायतको संस्थाहरुमा समेत काँग्रेसले कुनै उम्मेदवारलाई बोकेर नहिँड्ने काँग्रेस नगर सभापति पराजुलीले स्पष्ट पारे ।