सस्पेन्स् कमेडी ‘फिर्के’ पुस २१ गतेदेखि देशभर
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
-चन्द्र घलान
मकवानपुर, १४ पुस । नेपाली कथानक चलचित्र ‘फिर्के’ यही पुस २१ गतेबाट देशभरका सिनेमा घरहरुमा प्रदर्शनमा आउने भएको छ । आज चलिचत्र टोलीले मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै चलचित्र प्रदर्शनमा आउन लागेको जानकारी दिएका हुन् ।
कार्यक्रममा बोल्दै चलिचत्रका प्रस्तुतकर्ता एवं कलाकार सुलेमान शंकर ‘ईकु’ले यो चलचित्र आफ्नो तेस्रो चलचित्र भएको बताउँदै चलचित्र ‘फिर्के’ कमेडी चलचित्र तर सस्पेन्स् कथा भएको चलचित्र भएको बताए । साथै ईकु पात्रभन्दा फरक रुपमा आफु चलचित्रमा प्रस्तुत भएको समेत उनको दाबी छ । यात्रा संघर्षको कथा बोकेको चलचित्रको ९० प्रतिशत भाग शहरकेन्द्रित रहेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक तथा कलाकार रवि डंगोल ‘बेईमान’ले चलचित्रलाई कमेडी जेनरमा निर्माण गरिएको खोजमुलक तथा यात्रा संघर्षको कथा भएको बताए । उनले चलचित्रको विषयलाई लिएर गेट वेल सुन काण्ड भएको बारेमा समेत प्रष्टाएका छन् ।
करिब ८० लाख बजेटमा निर्माण गरिएको चलचित्र उपत्यकाभित्र २२ वटा हलहरुमा र उपत्यकाबाहिर करिब ४० वटा हलमा प्रदर्शन हुनेछ । चलचित्रमा सुलेमान शंकरका साथै अर्पण थापा, ऋचा शर्मा, कृष्टि पौडेल, उज्वल भण्डारी, विष्णु सापकोटा लगायतको कलाकारको अभिनय रहेको छ ।
कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका उपाध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको हो । कार्यक्रममा चलचित्रका निर्माता राजेश श्रेष्ठ, चलचित्र विकास बोर्डका केन्द्रीय सदस्य नरेन्द्र महर्जन, पत्रकार कपिल खड्का लगायतको सहभागीता रहेको थियो ।