भुकम्प प्रभावितलाई सहयोग र भूकम्प प्रतिरोधी घर निर्माणमा लाग्न आग्रह
मकवानपुर, २ माघ । भुकम्प सुरक्षा दिवसका अवसरमा मकवानपुरमा भएको कार्यक्रममा यहाँका सरोकारवाला निकायहरुले भुकम्प प्रभावितको समस्या बुझेर सहयोग गर्न र भूकम्प प्रतिरोधी घर निर्माणमा लाग्न आग्रह गरेका छन् । दिवसको अवसरमा मंगलबार हेटौँडाको बुद्धचोकदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरि गरिएको थियो ।
त्यस्तै दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले भुकम्पमा परेकाहरुको अप्ठ्यारो फुकाउन सबैलाई आग्र्रह गरे । उनले घर बनाउने प्रक्रियामा झन्झट बढि हुँदा लाभग्राहीको काममा ढिलाई भईरहेको बताउँदै यसलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यसअघि भुकम्पका कारण धनजनको क्षति भएको स्मरण गर्दै आउँदा दिनमा बन्ने संरचना भुकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिए । भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ललित घलान, राप्रपाका जिल्ला नेता सिताराम वर्तौला, पत्रकार महासंघका अध्यक्ष हरि हुमगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भुकम्प प्रभावितको अवस्था र पुर्ननिर्माणको अवस्थाबारे जानकारी समेत दिईएको थियो ।