अब हेटौँडामा मयुरी र अटो पनि बन्द हुन सक्छ
-चन्द्र घलान
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी घोषणा गरिएसँगै हेटौँडा उपमहानगरपालिकाले केही सुधारका कार्यहरु अचानक निर्णय गर्न सुरु गरिसकेको छ । ३ नम्बर प्रदेशको प्रदेश प्रमुख अनुराधा कोईरालाले पदभार ग्रहण गरेकै दिन उपमहानगरले ठेला र फुटपाथलाई हटाउन उर्दि जारी गरिसकेको छ ।
अचानक जारी भएको सूचनाका कारण फुटपाथ व्यवसायी र ठेलामा व्यापार गर्नेहरु चकित भएका छन् । उपमहानगरपालिकाले यस विषयमा केही दिनपछि मात्र विस्तृत योजना सहित अघि बढ्ने बताएको छ भने तत्कालै फुटपाथ र ठेलालाई बन्द गर्नुको विकल्प नभएको बताएको छ ।
अचानक लिइएको यस्तो निर्णयलाई हेर्ने हो भने हेटौँडामा अब ट्राफिक जाम हुने गरी कुदाइदै आइएका मयुरी र अटो समेत बन्द हुने सम्भावना देखिएको छ । नेपालको राजधानी काठमााडौँ, देशका मूख्य शहर र हाई वेमा आजसम्म देखिँदै आएको अभ्यासलाई हेर्ने हो भने हेटौँडामा अटो र मयुरी हट्ने कुरामा कुनै द्विविधा छैन । जसरी भए पनि अटो र मयुरी बन्द हुने देखिन्छ । यसलाई उचित विकल्प सहित उपमहानगरले व्यवस्थापन नगर्ला भन्न सकिने अवस्था छैन ।