अब शहरको फोहोरलाई सिमेन्टको भट्टामा बालौँ !!!

तु खबर संवाददाता
२०७४ माघ १०,बुधबार ११:१३

-श्याम कृष्ण कार्की
ईञ्जिनियर
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ (हटिया–चिसापानी)

मुलुकमा शहरीकरण बढेसंगै फोहोर व्यवस्थापनको चुनौती पनि जटिल बन्दै गईरहेको छ । फोहोर व्यवस्थापनकै लागि देशका महानगर तथा नगरहरुले प्रत्येक आर्थिक वर्षहरुमा करोडौ बजेट खर्च गर्ने मात्र नभएर फोहोरको उचित व्यवस्थापनकै लागि खोज, अध्ययन तथा अनुसन्धान कार्यमा पनि रकमहरु खर्चिने गरेको छ । फोहोर व्यवस्थापन कार्य क्षेत्रको मुलमन्त्रको रुपमा रहेको Reduction (कम प्रयोग), Reuse (पुनः प्रयोग), Recycle (पुनरावृत्ति) लाई पनि नेपालमा प्रभावकारी रुपमा अभ्यास गर्न सकिएको छैन । विभिन्न मुलुक, दातृ निकाय, संघसंस्थाहरुको यस क्षेत्रमा चहलपहल राम्रै रहे पनि धेरै जसो योजना कागजमा मात्रै सिमित रहेका छन् । मुलुक आर्थिक विकासको चरणमा प्रबेश गर्दै गर्दा आर्थिक उपार्जन गर्ने क्षेत्रहरुको पहिचान पनि हुनै पर्दछ जस मध्ये निर्यात मुखी कलकारखानाहरुको भुमिका त झनै बढी हुन्छ । केही समय भित्रै निर्यात मुखी बन्न लागेको देशको सिमेन्ट उत्पादन क्षेत्रलाई फोहोर व्यवस्थापन संग किन नजोड्ने ? शहरको फोहोरलाई सिमेन्ट कारखानाको भट्टामा किन नबाल्ने ? यस विषयमा गम्भिर हुनै पर्दछ ।

श्यामकृष्ण कार्की

विकारका बस्तुहरुलाई ईन्धनको रुपमा प्रयोग गर्ने प्रविधिलाई Co-processing भनिन्छ । सुरु सुरुमा फोहोरलाई ईन्धनको रुपमा सिमेन्ट भट्टामा प्रयोग गर्ने प्रविधि यूरोपियन मुलुकहरुले प्रयोगमा ल्याए पनि हाल भारतका ACC, Ambuja, Lafarge, Shree Cement, UltraTech लगायत २५% सिमेन्ट उधोगले विकारका बस्तुलाई प्रसोधन गरेर ईन्धनको रुपमा प्रयोग गर्दै आईरहेका छन् । नेपालमा हाल ५० भन्दा बढी सिमेन्ट उधोग रहेकोमा आफै क्लिकंर तयार गरी सिमेन्ट उत्पादन गर्ने उधोग भने करिब १५ वटा मात्र रहेका छन् । आफै क्लिकंर उत्पादन गर्ने उधोगको भट्टामा चुनढुँगा लाई करिब १४५० डिग्री सि. मा तताउने गरिन्छ भने तताउने ईन्धनको रुपमा कोईला तथा फर्नास आयल प्रयोग गरिन्छ । भट्टाको लागि आवश्यक ईन्धनको रुपमा कोईला तथा फर्नास आयल दुबै बाह्य देशवाट आयात गरिने गरेकोमा शहरवाट निस्केको फोहोरलाई ईन्धनको रुपमा प्रयोग गर्न सके फोहोर व्यवस्थापनमा सहजता आई कोइला तथा फर्नास आयलको आयातलाई कम गर्दै अर्वौ रुपैयाँ विदेश जानवाट समेत रोक्न सकिन्छ ।

नेपालको महानगरहरुको फोहोर सृजनाको प्रकृतिलाई हेर्दा जैबिकजन्य ६६%, प्लाष्टिकजन्य १२%, कागजजन्य ९%, सिसाजन्य ३%, फलाम–छाला–कपडा–रबर जन्य २% र अन्य ५% रहेको पाईन्छ । जैबिक फोहोर वाहेक अधिकांस प्रकारका फोहोरलाई उचित तवरले प्रसोधन गरी SRF (Solid Recovered Fuel) को रुपमा परिणत गरे पश्चात सिमेन्ट उधोगको भट्टामा ईन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसो त फोहोरवाट मोहर बनाउने कार्य सुरु नभएको भने हैन काठमाण्डौ टेकु स्थित फोहोर प्रसोधन केन्द्रमा फोहोरवाट १४ किलोवाट विजुलि समेत निकालिएको छ जुन असाध्यै राम्रो र सरहानिय कार्य भएको छ ।

Co-processing प्रविधिले जटिल बन्दै गएको फोहोर व्यवस्थापनको कार्यलाई अझ सहज त बनाउँछ नै त्यस वाहेक जल–भु–वायु प्रदुषण नियन्त्रण, हरित गृह प्रभाव नियन्त्रण, ल्याण्डफिल्ड साईडको आवश्यकतामा कमी, स्वच्छ–सफा वातावरण सृजना गर्दै ग्रिन सिटीको अवधारणा कार्यान्वयनलाई समेत मदत गर्दछ । यस प्रविधिको कयौँ फाईदा रहेता पनि आर्थिक लगाानी, नियमित प्रसोधन सञ्चालन तथा भट्टामा प्रयोग गर्ने प्रविधी एवम् दक्ष जनशक्तिको अभाव ईत्यादी भने प्रमुख चुनौती हुन सक्दछन् । Co-processing प्रविधीलाई नेपालको सिमेन्ट प्लाण्टहरुमा प्रयोग गर्ने सम्बन्धि खोज, अध्ययन तथा अनुसन्धानहरु खासै भएको पाईदैन अतः यस प्रविधिको प्रयोगले नेपालको फोहोर व्यवस्थापनलाई सहज बनाउदै उर्जा संकटको समस्यालाई समेत संबोधन गर्ने हुँदा यस प्रविधि प्रति सम्बन्धित सबै पक्षको ध्यान जान जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*