विकासको लागि यो मोडेल हुन सक्छ ?
कतिपय कुरामा आलोचना सहनुपर्दा पनि त्यत्ति दुःख लाग्दैन । यस आलेखको सम्बन्धमा पनि मेरो सन्दर्भमा यो लागू हुन्छ किनभने कतिपयलाई यो मन नपर्न सक्छ । यद्यपि यो स्वतन्त्र विचार हो, यसकारण आफ्नो वैचारिक स्वतन्त्रताको उपयोग (कसैलाई दुरुपयोग पनि लाग्न सक्छ) गर्ने दुस्साहस गर्दैछु ।
“प्रभु साह जे वाचा करइछई, ऊ पूरा होखलई” नवनिर्वाचित साँसद एवम् पूर्वमन्त्री प्रभु साहले एक सन्दर्भमा भनेका छन् । साहलाई विकास पुरुषको संज्ञा दिनेको कमी छैन सार्वजनिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा पनि । उनले विकासको थालनी गरेका छन् । सामान्य परिवारबाट उठेर उनी देशमा राजनीतिको क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल बनेका छन् । उनी लेखक पनि हुन् । उनका राजनैतिक दर्शनको पुस्तक पनि प्रकाशित छ । अन्य लेखहरुको संग्रह पनि प्रकाशित छ । चारभन्दा बढी पुस्तकाकार कृति प्रकाशित साह गीतकार पनि हुन् । कैयौँ गीति एलबम पनि निस्केको छ । उनको एउटा आर्थिक प्रस्तावले संसदमा लामो समय बहस ल्याएको थियो । हरेक स्थानीय तहमा अनिवार्यरुपमा क वर्गको बैंक पुग्नुपर्छ भन्ने अवधारणालाई उनले स्थापित गराएका हुन् । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उनको निरन्तर सक्रियता रहेको छ । उनले सर्जकलाई अन्तर्हृदयदेखि सम्मान गर्दछन् । तर यस आलेखमा उनको विकासको तरिका अर्थात् मोडेलबारे केही चर्चा गर्ने प्रयास गरिएको छ ।
गत वर्ष प्रधानमन्त्री रहेकै वेला पुष्पकमल दाहालले रौतहटमा सडक बचाओ अभियानमा सहभागी भएका थिए । सडक बचाओ अभियानका अभियन्ता प्रभु साहले हरेक घरलाई सडकसित जोड्ने अभियान सञ्चालन गरेका छन् । राज्यले करोडौँ खर्च गर्नुपर्ने तथा वर्षौँ लगाएर गर्नुपर्ने सडक सम्बन्धी कामलाई साहले आफ्नो अभियानमार्फत केही दिनमै सम्पन्न गर्ने गरेका छन् । अभियानमार्फत नयाँ सडक निर्माण, पुराना सडकको मरम्मतदेखि नयाँ राजमार्गको रुपरेखा नै तयार पारिसकेका छन् । उनी बडो सजिलो तरिकाले सडक निकालेर रौतहटलाई सम्भवतः तराईकै सबैभन्दा बढी सडकको विकास भएको जिल्लाका रुपमा चिनाउन सफल भएका छन् । जति सजिलो गरी रौतहटका गाउँ गाउँमा पुग्न सकिन्छ, उति सजिलो छिमेकी बारा र सर्लाहीमा अहिलेसम्म सकिँदैन । साहको अभियान थालिनुभन्दा पहिले बकैयाभन्दा पश्चिमको रौतहटलाई सबैले दुर्गम मानेका थिए तर अब कुनै पनि गाउँमा कुनै पनि महिना सजिलै मोटर पुग्न सक्छ । अधिकांश गाउँलाई पिचले जोड्ने अभियान नै रहेको छ । साहको पहलमा साँच्चै बकैया नदीको कैयाँै ठाउँमा पुलको निर्माण भएको छ, कैयौँ ठाउँमा पुलको निर्माण भइरहेको छ । उनी भन्छन् –जिल्लामा सयभन्दा बढी पक्की र झुलुङ्गे तथा साधारण पुल केन्द्रीय योजनाबाट ल्याउन सफल भएको छु, यसका धेरैको सहयोग रहेको छ ।
राज्यले करोडौँ खर्च गर्नुपर्ने तथा वर्षौँ लगाएर गर्नुपर्ने सडक सम्बन्धी कामलाई साहले आफ्नो अभियानमार्फत केही दिनमै सम्पन्न गर्ने गरेका छन् । अभियानमार्फत नयाँ सडक निर्माण, पुराना सडकको मरम्मतदेखि नयाँ राजमार्गको रुपरेखा नै तयार पारिसकेका छन् । उनी बडो सजिलो तरिकाले सडक निकालेर रौतहटलाई सम्भवतः तराईकै सबैभन्दा बढी सडकको विकास भएको जिल्लाका रुपमा चिनाउन सफल भएका छन् ।
हरेक गाउँलाई राजमार्गसित जोड्नुपर्छ । गाउँलाई व्यवस्थित बनाउनु पर्छ । गाउँ राजमार्गसित जोडिएमा र व्यवस्थित बसोबास भएमा सहरको सुविधा गाउँमा आउन सक्छ । मानिसलाई सहरमा पुग्न पनि सजिलो हुन्छ । गाउँको परम्परागत पेसाले आधुनिकरुप पाउन सकेमा गाउँमा रोजगारीको सम्भावना बलियो हुन्छ जस्ता अवधारणालाई निरन्तर सार्वजनिक गर्ने गरेका साहले यसअनुरुप काम गरेरै सबै कुरालाई प्रमाणित गर्दै लगेका छन् । साहको गाउँ मौलापुरलाई मैले व्यक्तिगत किसिमले कम्तीमा तीस वर्षपहिलेदेखि राम्ररी चिनेको छु । अहिले आएर उत्तरमा महेन्द्र राजमार्ग र दक्षिणमा बम नहरसित जोडिएको छ । मौलापुरलाई पूर्वमा जनकपुर र पश्चिममा वीरगंजसित जोड्ने प्रयास पनि भइरहेको छ । अहिले मौलापुरबाट गौर र वीरगंज दिवासेवा बस सञ्चालनमा रहेका छन् भने बिहान टाटा सुमो र साँझ रात्री सेवाका बसहरु काठमान्डौको लागि प्रस्थान गर्ने गरेका छन् नियमितरुपमा । विकासको पथमा मौलापुरलाई अगाडि बढाउने क्रममा सम्भवतः देशमा नै पहिलोपल्ट नगरपालिकालाई धुँवामुक्त भान्छा भएको नगर घोषणा गरिँदैछ । करिब हरेक घरमा साहले ग्याँस सिलिन्डर र ग्याँस चुल्हो वितरण गरिसकेका छन् तथा सधैँभरि निशुल्क ग्याँस सिलिन्डर दिइरहने बाटो पनि निर्माण गर्न लागेका छन् । सडकको सन्दर्भमा मौलापुर नगरपालिकालाई पाँच वर्षभित्र दोगाडीमुक्त अर्थात् साँघुरो गल्लीमुक्त नगरपालिका बनाउने योजना रहेको छ । हरेक घरलाई अनिवार्य रुपमा सडक, नाला, खानेपानी र बिजुलीसित जोड्ने घोषणालाई कसले पो सराहना नगर्ला र ? उनले गरेका घोषणाहरु कार्यान्वयन हुन्छन्, यसकारण के आशा गरिएको पनि छ भने आगामी पाँच वर्षभित्र साहको क्षेत्रमा फुसको छाप्रो भएको एउटै पनि घर रहने छैन अर्थात् सबै गरिबले कुनै न कुनै रुपमा पक्की घर पाउने छन् । रौतहटका पुराना बजारहरु शिवनगर, गरुडा, कटहरिया, समनपुर, बंकुल, राजपुर आदि भएर राजमार्गको उनले परिकल्पना गरेका छन् अब साकार हुनै लागेको छ । सबैतिरबाट उपेक्षित रहेको कटहरियालाई उनी तेस्रोपल्ट जनताबाट निर्वाचित भएपछि गज्जब तरिकाले जोड्ने उपक्रमलाई साकार दिनै आँटेका छन् । कलैयाबाट बाराकै मलाहीसम्म ठूलो सडकको काम भइरहेको अवस्थामा त्यहाँबाट कटहरियालाई जोड्न दुई ठाउँमा सडकको अभाव रहेको देखिएकोमा रौतहटको सन्तपुरमा चार किलोमिटर भन्दा लामो नयाँ सडक कम्तीमा पन्द्रदेखि बीस मिटर फराकिलो निकालेका छन् । कटहरियाभन्दा पश्चिम पनि सडकको अभावलाई पूरा गरेका छन् भने कटहरियामा पनि सडकको नयाँ सञ्जालको ट्रयाक खोलेर निर्माण कार्य प्रारम्भ भएको छ । कटहरियाबाट गरुडा जानलाई करिब तीन किलोमिटर घुमाउरो बाटा रहेकोमा सिधा पार्न उनको प्रयासमा निकै ठूलो सफलता प्राप्त भएको छ ।
अहिले आएर उत्तरमा महेन्द्र राजमार्ग र दक्षिणमा बम नहरसित जोडिएको छ । मौलापुरलाई पूर्वमा जनकपुर र पश्चिममा वीरगंजसित जोड्ने प्रयास पनि भइरहेको छ । अहिले मौलापुरबाट गौर र वीरगंज दिवासेवा बस सञ्चालनमा रहेका छन् भने बिहान टाटा सुमो र साँझ रात्री सेवाका बसहरु काठमान्डौको लागि प्रस्थान गर्ने गरेका छन् नियमितरुपमा । विकासको पथमा मौलापुरलाई अगाडि बढाउने क्रममा सम्भवतः देशमा नै पहिलोपल्ट नगरपालिकालाई धुँवामुक्त भान्छा भएको नगर घोषणा गरिँदैछ ।
जहाँ सडक खोल्नु छ, त्यहाँका सबै पक्षलाई भेला गराएर स्थानीय सबै प्रमुखलाई समेटेर विकासमा सबैको सहभागिताको सुनिश्चिता गर्ने साहको तरिकालाई सबैले मोडल मान्न थालेका छन् । अहिले भर्खरै कार्यान्वयनमा रहेको उनको सन्तपुरको ठूलो सडक निकाल्ने तरिकालाई हेर्दा राजनीतिक रुपमा फरक विचारको रहेको व्यक्तिको संयोजकत्वमा उनलाई नै कार्यको श्रेय जाने गरी समिति बनाएर सडक खोलेको देखिन्छ । सकेसम्म सबै प्रमुख दलका सबैजना स्थानीयलाई जिम्मा दिएपछि सडक डिभिजन कार्यालय र आफूले पनि आफ्नो जिम्मा केही कार्य विभाजन गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा महँगो जमिन मानिने गरुडामा सडकको नयाँ ट्रयाक खोल्नेदेखि पिच गर्ने र पुल निर्माण गर्नेसम्मको जिम्मेवारी बाँडफाँडमा करिब एक घन्टा पनि लागेन । सबै पक्ष खुसी र सन्तुष्ट भए र नयाँ मोडेलको विकासमा सबै पक्ष विन विनको अवस्थामा पुगे । तीन किलोमिटर घुमाउरो बाटोलाई डेढ किलोमिटरमा सिधा पार्दा एकातिर कटहरियाको बाटो छोटो हुने र अर्कोतिर सडक फराकिलो हुने हुँदा सबैले खुसीसाथ स्वीकारे । गरुडाका नगर प्रमुखको संयोजकत्वमा नौ सदस्यीय सडक निर्माण समिति बनाउँदा एमाले र माओवादीबाट एक एकजना पार्दा सबैभन्दा बढी फोरम र नेपाली काँग्रेसका स्थानीय हैसियतबाला मान्छेलाई राखेर सडकको रेखाङ्कन गर्ने मूल जिम्मेवारी दिँदै उपस्थितहरुबाट अनुमोदन गराए । साथै सडक डिभिजन कार्यालयका डिईलाई विभागको यन्त्र ल्याएर समितिको रोहबरमा माटो पुर्ने काम गर्ने जिम्मा दिए । पूर्वमन्त्री साहले सडकलाई पिच गर्न र लमाहा नदीमा आवश्यक पर्ने पुल र नहरमा आवश्यक पर्ने कल्भर्टको लागि बजेट विनियोजन गराउने जिम्मा लिए । साथै सबैको सामु बजेट आउनासाथ डेढ वर्षभित्र पिच गराई छाड्ने जिम्मेवारीपूर्ण प्रतिबद्धता डिईबाट सार्वजनिक गराए । डिईले एउटा वाक्य यस्तो पनि भने – माननीय साहको सार्थक सक्रियताले दुई वर्षमा पूरा गर्ने भनी ठेकेदारले लिएको सडक निर्माणको ठेक्का एक वर्ष पनि पूरा नहुँदै पूरा हुन लागेको छ । यो कुरो कटहरियालाई गरुडासित जोड्ने सडकको हो जुन सामान्यता एउटा चार पाङ्ग्रे मुस्किलले चल्ने किसिमको थियो तर अहिले कम्तीमा पन्ध्र मिटर फराकिलो बन्दैछ जसमा घटीमा सात मिटर चौडा कालोपत्रे रहेको छ ।
सबै पक्षलाई समेटेर सडक निर्माणको कार्य गर्ने, सडक निर्माणको श्रेय सबैलाई दिने तथा केन्द्रबाट बजेट ल्याउने र समयमै कार्यान्वयन गराउने मात्र नभई नियमानुसार भए नभएको नियमित अनुगमन गर्ने साहको तरिकालाई स्थानीयले मोडेल भन्न थालेका छन् । शिक्षा, स्वास्थ्य, बिजुली, सडक, भवन लगायत भौतिक पूर्वाधार र अन्य क्षेत्रमा साहले साँच्चिकै सराहनीय काम गरेका छन् । यसकारण नै होला हरेकचोटि निर्वाचित हुँदा साहले पहिलेभन्दा मतान्तर बढाउँदै लगेका छन् । यसलाई साहको विकासवादी छविको जनताले अनुमोदन गरेको भन्ने ठानिएको छ । आफैँले मात्र श्रेय नलिने, सबैको स्वामित्वको आत्मगौरव दिलाउने र कहिल्यै पनि खाली भएर नबस्ने साहको विकासवादी सिद्धान्तबाट अन्य राजनेताहरुले पनि प्रेरणा लिने हो कि ?