ईन्द्र बानियाँ प्रमुख प्रतिपक्षी दलका नेता चयन
मकवानपुर, २५ माघ । पूर्व गृह राज्यमन्त्री तथा हाल प्रदेश नम्बर ३ का सांसद नेपाली काँग्रेसका मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता बनेका छन् ।
काँग्रेसले सरकार निर्माण गरेमा मुख्यमन्त्री बन्ने दाबी गरिरहेका उनी काँग्रेसले सरकार बनाउन नपाएपछि प्रमुख प्रतिपक्षी दलको नेता बन्ने भनेर पहिलेदेखि नै चर्चामा आएका थिए । फलस्वरुप अहिले उनी काँग्रेसको संसदीय दलको नेताका रुपमा छानिएका हुन् । बिहीबार बसेको बैठकले उनलाई सांसदीय दलको नेताका रुपमा चयन गरेको हो । यस अघि नै प्रधान मन्त्री शेरबहादुर देउवाले समेत उनलाई मूख्य मन्त्री वा प्रमुख प्रतिपक्ष दलका नेताका रुपमा अगाडि बढाउने वाचा गरेको बताइएको थियो ।
प्रतिपक्षी दलका नेतालाई राज्यमन्त्री सरहको सेवासुविधा र अधिकार रहने संवैधानिक व्यवस्था समेत छ । अहिले उनी प्रदेश नम्बर ३ को राजधानी हेटौँडाबाट सार्न नपाईने अडानमा उभिएका छन् ।