मुख्यमन्त्री डोरमणि पौडेलसँग त्रिशुली बचाउको माग, यस्ता छन् जनताका मागहरु

मकवानपुर, ११ फागुन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशुली बचाउ अभियानको तर्फबाट ज्ञापन पत्र बुझाइएको छ । जिल्ला दौडका क्रममा पहिलो पटक आज धादिङमा मुख्यमन्त्री पौडेललाई त्रिशूली बचाउ अभियानको तर्फबाट ज्ञापनपत्र बुझाएर नदी संरक्षण तथा पर्यावरण जोगाउन माग गरिएको हो ।
त्यस्तै फियान नेपालले भूमि, वन, जिविकोपार्जन, आवास तथा पुननिर्माणलगायतका विषयमा नागरिकले समस्या भोगिरहेकोले समाधान गर्न माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्रीलगायत मन्त्रीहरुलाई स्वागत
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, स्थानीय मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल, भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई शुक्रबार धादिङ जिल्ला समन्वय समितिद्वारा स्वागत गर्दै । तस्वीर : सीताराम अधिकारी, धादिङ, रासस
मुख्यमन्त्री डोरमणि पौडेल, स्थानीय मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, भौतिक पूर्वाधारमन्त्री केशव स्थापित धादिङको विकासको लागि आवश्यकताका बारेमा पहिचान गर्न जिल्ला भ्रमणमा पुगेका थिए । जिल्ला समन्वय समिति धादिङले पौडेललाई स्वागत समेत गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले शुशासन र विकासको अपेक्षामा जिल्लाबासी रहेकोले विकासको लागि लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुका कारण सचेतना बढेको भएपनि लगानी अनुरुप प्रतिफल प्राप्त नभएकोले सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई प्रतिफल निस्कने गरी काम गर्न अनुरोध गरेका छन् ।
उनले विकासको लागि प्रदेशले काम गर्ने हाल सुरुवाती मात्र भएकोले कर्मचारी व्यवस्थापन तथा संरचना पूर्वाधारको व्यवस्था भएपछि प्रदेश सरकारको कामले गति लिने बताएका छन् ।