मुख्यमन्त्री पौडेलले मुख खोले–‘ हेटौँडाबाट राजधानी सार्न नदिन दुई तिहाई पुग्न नदिने रणनीतिमा छौँ’

मकवानपुर, १७ फागुन । मुख्यमन्त्री र राजधानी मध्ये कुनै एक छोड्नुपर्ने शर्तमा एमालेका नेता तथा केन्द्रबाट नै चेपुवामा परेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्ततः राजधानीका बारेमा मुख खोलेका छन् । उनले राजधानी सार्न नदिन एक रणनीति तयार भएको खुलासा गरेका हुन् ।
पछिल्लो समय मकवानपुरमो पर्यटकीय क्षेत्रका रुपमा चर्चा कमाएको कुश्माण्ड सरोबर त्रिबेणीधाममा आज भएको स्वागत तथा सम्मान कार्यक्रममा उनले रणनीतिका बारेमा खुलाशा गरेका हुन् । कुश्माण्ड सरोबर त्रिबेणीधाम विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हेटौँडाबाट राजधानी सार्नका लागि २ तिहाई सांसदको समर्थन चाहिने भएकोले दुई तिहाइ पु¥याउन नदिन मकवानपुरका सांसदहरु लागि परिरहेको बताए ।
‘राजधानीका बारेमा धेरै टिकाटिप्पणी उठीरहेको छ, तर हामी मकवानपुरका सांसदहरु हेटौँडाबाट राजधानी सार्न नदिने रणनीतिमा लागिसकेका छौँ ।’ उनले भने, ‘राजधानी सार्न दुई तिहाई सांसदको समर्थन चाहिन्छ, तर हामी दुई तिहाई समर्थन पुग्न नदिने रणनीतिमा लागेका छौँ ।’ पछिल्लो समय राजधानी सार्न र मुख्यमन्त्रीलाई असफल बनाउन पौडेल नेतृत्वकै प्रदेश सरकारमा रहेका भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित, एमाले नेता राजेन्द्र प्रसाद पाण्डे लगायतका अन्य नेताहरु लागिपरिरहेको चर्चा चलिरहेको छ ।
उनले ३ नंम्बर प्रदेशका जनताले आफूलाई धेरै विश्वास गरेकाले आफ्ना अगाडि गर्नुपर्ने धेरै काम रहेको समेत बताए । उनले कुष्माण्ड सरोबर क्षेत्रका अध्यक्ष जस्तै हरेक क्षेत्रमा समर्पणको भावले काम गर्ने व्यक्तिको खाँचो रहेको समेत औँल्याए ।
समितिका सल्लाहकार समेत रहेका पौडेलले ३ नं. प्रदेशको मुख्यमन्त्री जस्तो गरिमामय पद सम्हालेको भन्दै समितिले बधाइ तथा शुभकामना सहित स्वागत गरेको हो । समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीलगायको उपस्थिति रहेको थियो ।