स्थापितलाई निलम्बन गर्न मुख्यमन्त्री पौडेलमाथि दवाब

-चन्द्र घलान
मकवानपुर, १८ फागुन । प्रदेश नम्बर ३ मा भौतिक पुर्वाधार विकास मन्त्री बनेका नेकपा एमालेका केशव स्थापितले मकवानपुरको हेटौँडाबाट ३ नम्बर प्रदेशको राजधानी सार्नुपर्छ भन्दै ठाउँ–ठाउँमा सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका छन् । हेटौँडालाई प्रदेश राजधानीका रुपमा अस्थायी रुपमा तोक्ने बेलामा पनि उनै स्थापितले विरोध गरेका थिए ।
अहिले प्रदेश सरकारमै रहेका उनले विभिन्न सभासमारोहमा सम्बोधन गर्दै हेटौँडा अपायक स्थान भएकोले राजधानीलाई अन्तै सार्नुपर्ने बताउँदै आएका छन् । देशको राजधानी काठमाडौँकै आसपासमा प्रदेश राजधानी सार्न उनले विभिन्न चलखेल समेत गरेको बताईन्छ । स्थापितलाई नै सहयोग गर्ने गरि नेकपा एमालेकै अर्का नेता राजेन्द्रप्रसाद पाण्डे पनि सचिवालयमै सरकारको आलोचना गरेर विरोधमा उत्रिएका छन् । जानकारहरुले स्थापितको यो अभिव्यक्ति दिने शैली नै ठिक नभएको बताउँदै आएका छन् । मुख्यमन्त्री डोरमणि पौडेललाई समेत स्थापितलाई निलम्बित गर्न आमजनमासका साथै एमालेकै नेताहरुबाट समेत दवाब बढेको श्रोतको दाबी छ । स्थापितको अभिव्यक्ति सुनेर विपक्षी दलका नेताहरु झनै दवाबमा परेका छन् । हेटौँडालाई अस्थायी राजधानी तोक्नका लागि केन्द्रसम्मै लबिङ गरेका राप्रपा र प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेपाली काँग्रेसका सांसद तथा नेताहरुलाई यसको चरम दवाब छ ।
स्थापितको एकोहोरो भाषणपछि मकवानपुरका स्थानीयहरुसमेत ‘स्थापितलाई विस्थापित गरौँ’ भन्दै सामाजिक संजालहरुमा कुर्लिन थालेका छन् । विभिन्न चुनौतिसँग जुधिरहेका मुख्यमन्त्री पौडेल समेत स्थापितको हर्कत देखेर दिक्क भएको अवस्थामा पुगेको श्रोत बताउँछ ।
यसै सन्दर्भमा तु खबरसँग कुराकानी गर्दै नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले स्थापितको अभिव्यक्तिहरु निजी विचार हुन् वा सरकारको निर्णय हो नछुट्टिने गरेको बताए । ‘यदि निजि विचार हो भने उहाँले त्यति बोल्न पाउनुहुन्छ कि हुन्न ? ’ यसका लागि सिमा तोकिनु जरुरी छ ।’ उनले भने, ‘संसदले अथवा सरकारकै निर्णय हो भने संसद वा सरकारको प्रवक्ताले बोल्नुपर्छ तर स्वतन्त्र रुपमा त्यसरी अभिव्यक्ति दिन उहाँलाई सुहाउँदैन ।’
संसदले निक्र्योल गर्ने विषयमा जथाभावी बोल्नु उचित नभएको दाहालको बुझाई छ । सरकारले नै नगरेको निर्णयलाई खुलेआम भन्दै हिँड्नु कुनै अधिकार नभएको दाहालले बताए ।
त्यस्तै नेकपा एमालेकै अर्का सांसद विरोध खतिवडाले जथाभावी मनलाग्दी बोल्न स्थापितलाई कुनै अधिकार नभएको बताएका छन् । ‘राजधानी सार्ने निर्णय प्रदेशसभाले गर्ने हो, कसैको व्यक्तिगत ढिपीले हुँदैन ।’ उनले भने, ‘ हाम्रो पार्टीले समेत राजधानी सार्ने विषयमा केही आधिकारिक निर्णय समेत नगरेको अवस्थामा उहाँले अराजक अभिव्यक्ति दिन मिल्दैन , हामी हेटौँडामै राजधानी राख्ने पक्षमा उभिएका छौँ ।’
सांसद खतिवडाले स्थापित मुख्यमन्त्री मातहतको सरकारमा भएर पनि सरकारकै निर्णयको विरुद्ध खनिएको भन्दै त्यस्तो गर्न स्थापितलाई शोभा नदिने बताए । ‘ अभिव्यक्ति स्वतन्त्रता उहाँलाई छ तर कति बोल्नुपर्छ भन्ने कुरा चाहिँ उहाँले हेक्का राख्नुपर्छ ।’ उनले भने, ‘उहाँ हाम्रै पार्टीको हुनुहुन्छ , तर बदमासी गर्नेलाई चाहिँ जो सुकै भए पनि कारवाही हुन्छ ।’
एमालेका अन्य नेताहरु समेत स्थापितले जथाभावी बोलेकोमा रुष्ट छन् । सरकारभित्रै पनि उनको आलोचना बढ्दो छ । फलश्वरुप स्थापितलाई निलम्बन गर्ने अधिकार प्रदेश सरकारलाई भएको भन्दै स्थापितलाई निलम्बन गर्न मुख्यमन्त्री पौडेललाई ठूलो दवाब परेको छ । तर हठी स्वभावको भनेर चिनिएका स्थापितले भने हेटौँडा राजधानी बनाउन नमिल्ने भन्दै अभिव्यक्ति दिन छाडेका छैनन् ।
प्रदेशको अस्थायी राजधानी हेटौँडामा सार्न मुख्य भूमिका खेलेका राप्रपाका अध्यक्ष कमल थापा सहितको विपक्षी दल पनि स्थापितको अभिव्यक्तिले आक्रोशित छन् । प्रदेश नम्बर ३ का मुख्य प्रतिपक्षी दलका नेता एवं पूर्वगृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले समेत स्थापितको अभिव्यक्तिलाई राम्रो मानेका छैनन् । कुनै पनि हालतमा हेटौँडाबाट प्रदेश राजधानी सार्न नहुने पक्षमा रहेका बानियाँले समेत स्थापितले केही बोल्नुअघि विचार गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारको विषयलाई व्यक्तिगत अभिव्यक्तिमा समेट्न खोज्नु राम्रो नभएको उनको दाबी छ ।
यता राजधानी सार्न दुई तिहाई सांसदको मत पुग्न नदिन विभिन्न तयारी गरेको यसअघि नै मुख्यमन्त्री पौडेलले खुलाशा गरिसकेका छन् । मकवानपुरका सांसदहरु हेटौँडामै राजधानी बनाउने पक्षमा खरो रुपमा उत्रिएको उनको अभिव्यक्ति छ ।