ओलीको वार्ता प्रस्तावमाथि बिप्लवको आशंका

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिक मूलधारमा फर्केर राजनीतिमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेका छन् । यद्यपि एकीकृत जनक्रान्तिमार्फत सत्ता कब्जा गर्ने अभियानमा रहेको विप्लव नेतृत्वको पार्टी नेकपाका एक जना पोलिटब्यूरो सदस्यले भने सरकार वार्ता गर्न नभई फाँसिष्ट दमनमा उत्रेकाले यथास्थितिमा वार्ता हुन नसक्ने बताएका छन् ।
२०५२–०६२ समयको जनयुद्ध गरेको तत्कालिन नेकपा माओवादीबाट विभाजित भएर बनेको विद्रोही शक्ति नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) लाई प्रम ओलीले सार्वजनिक अभिव्यक्तिमार्फत वार्ताद्वारा आफ्ना मागहरु पूरा गर्न आह्वान गरेका हुन् । शनिवार राजधानीको टुडिखेलमा करिब एक लाख मानिस सहभागी विशाल कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत संगै राखेका वार्ताको लागि आह्वान गरेका हुन् ।
गत मंसिरमा सम्पन्न भएको निर्वाचन असफल पार्न ध्वंसात्मक गतिविधिमा समेत सहभागी तथा थवाङ महाधिवेशनबाट एकीकृत जनक्रान्तिको प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टीले भने सरकारले आह्वान गरेको वार्ता जालझेलको षडयन्त्र भएको आरोप लगाएको छ । सो पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त)ले तूखवरसँगको संक्षिप्त कुराकानीमा भने, ‘पार्टीका महासचिवसहितका नेताहरुको घर–घरमा पुर्जी टाँसेर वार्ताको आह्वान गर्नुको कुनै औचित्य छैन ।’ वार्ता गर्ने नियतले भन्दा पनि अल्मल्याउने नियतले वार्ताको कुरा अघि सारिएको भन्दै संसदवादी जालझेलको खेलबारे पार्टी सचेत रहेको बताए । पोलिटब्यूरो सदस्य कार्कीले आफ्नो पार्टी वार्ता विरोधी नभएको र वार्ताको लागि वातावरण बनाएर औपचारिक रुपमा आमन्त्रण गरे तयार रहेको समेत बताएका छन् । नेता कार्कीले सरकारले गरेको निर्मम दमन र धरपकडको सम्बन्धमा आत्मालोचना गरेर वार्ताको लागि औपचारिक रुपमा आह्वान गरे आफ्नो पार्टी वार्ताको लागि तयार रहेको प्रष्ट पारेका छन् ।
गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वभर प्रवाह गर्न शनिवार राजधानीको टुँडिखेलमा आयोजित विशाल कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिको कामना गर्दै सिरियामा जारी हिंसा समेत तत्काल रोक्न आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बुद्ध भूमिबाट विश्व शान्तिको कामना गर्दछु ।’