मुलुकको व्यवस्था फेरियो तर जनताको फेरिएन–पृथक

हेटौंडा, २० फागुन । नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथकले मुलकुको व्यवस्था फेरिएको तर जनताको अवस्था नफेरिएको बताएका छन् ।
शनिबार माओवादी केन्द्र निकटको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला कार्यसमितिको प्रथम बैठकमा बोल्दै उनले जनताको संघर्ष र बलिदानका फलस्वरुप मुलुकमा व्यवस्था फेरिएको तर जनताको दैनिक अवस्था नफेरिएको बताए । जनताको अवस्था फेर्नका लागि निमित्त बदलिँदो राजनितिक परिस्थितिलाई आधार मान्दै रचनात्मक र सृजनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै संगठनलाई सुदृढ गर्ने अभियानमा लाग्नु पर्ने समेत उनले बताए ।
बैठकले ट्रेड युनियन महासंघका अध्यक्ष गंगा भट्टराईको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य कमानसिं पाख्रिन पृथकको प्रमुख आतिथ्यतामा भएको बैठकले महासंघको उपाध्यक्ष रामशरण घिमिरे संगठन विभाग प्रमुख रहने गरी ५ सदस्यीय संगठन विभाग समिति गठन गरेको छ ।
त्यसैगरी ठाकुरदत्त खतिवडा संयोजक रहने गरी आर्थिक विभाग समिति गठन गरिएको छ । त्यस्तै महिला विभाग प्रमुखमा शुशीला तिमल्सिना, स्थानीय तह विभागमा विष्णु रानालाई संयोजकको जिम्मेवारी दिइएको छ । बैठकले ७ जना कार्यालय सदस्य र १२ जना सचिवालय सदस्य रहने गरी निर्णय गरेको छ ।
साथै मजदुर महासंघको आयोजनामा आगामी चैत १० जिल्लास्तरको प्रशिक्षण गर्ने, चैत २४ गते शनिबार सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । साथै फागुन २६ गतेदेखि संगठन सुदृढीकरण अभियान सञ्चालन गरिने समेत बैठकले निर्णय गरेको छ ।