फोरम र वाम सम्बन्धको जोड घटाउ : लिखित सम्झौता अन्यौल
काठमाडौँ, ५ चैत । संघीय समाजवादी फोरमसँग लिखित सम्झौता गर्न वाम गठबन्धन ईच्छुक नदेखिएको बताइएको छ । संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित सत्तारुढ गठबन्धन इच्छुक नदेखिएपछि संघीय समाजवादी फोरमको सत्तारोहण लम्बिने संकेत देखिएको छ ।
राजपालाई रोकेर लिखित सहमति सहित एक्लै सरकारमा जान खोजेका उपेन्द्र यादवले लिखित सम्झौतामा हस्ताक्षर गर्न प्रधानमन्त्री उत्साहित नदेखिएको बिफ्रिङ पार्टीमा गरेको खुलासा भएको छ ।
यादवले संविधानको धारा २७४ लगायत केही धारा उल्लेख गरेर संविधान संशोधन आपसी सहमतिमा गर्ने भन्ने लिखित सम्झौता गर्न खोजेका छन् । तर वाम गठबन्धनका नेताहरुले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन आपसी समझदारीमा गर्ने सैद्धान्तिक सहमति गरे पनि लिखित सम्झौता आवश्यक नभएको बताएका छन् ।
प्रधानमन्त्री ओली संघीय समाजवादी फोरमलाई दुई मन्त्री सहित एक राज्यमन्त्री दिन सहमत छन् । मन्त्रिपरिषद बिस्तार गर्दा पनि फोरमलाई दुई मन्त्रालय राखिएको छ । प्रधानमन्त्रीपछिको दोस्रो बरियता पाए उपेन्द्र यादवकै नेतृत्वमा सरकार जान फोरम तयार छ । यद्यपि एमाले महासचिव ईश्वर पोखरेलभन्दा माथिको बरियता यादवले पाउने सम्भावना कम छ ।