२१ लख ७९ हजार रुपैयाँ बराबरको धनमाल चोरी
काठमाडौं, ५ चैत । मुलुकका विभिन्न स्थानहरुमा भएको छुट्टा–छुट्टै चोरीका घटनामा २१ लख ७९ हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ माकाजुटोल बस्ने फुलमाया मकाजुको घर तथा उनको घरमा डेरा गरी बस्ने शोभा बजेगुको कोठाबाट आइतबार सुनका विभिन्न गहना र मोबाइल १ थान समेत गरी करीब २ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । त्यस्तै भक्तपुर चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ४० वर्षीय गोबिन्दप्रसाद पौडेलको घरबाट आइतबार कोही नभएको अबस्थामा नगद ३७ हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करीब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान डेरागरी बस्ने काठमाडौं महानगरपालिका–७ चाबहिल घर भएका अनिल बिक्रम राणाको कोठाबाट आइतबार कोही नभएको अबस्थामा नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करीब ८ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–९ डाँडाचोक बस्ने भगवान थापाको घरबाट आइतबार कोही नभएको अबस्थामा नगद २ लाख ३६ हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करीब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।