नागरिकताधारी रोबोट ‘सोफिया’ले नेपालमा मच्चाईन् तहल्का
काठमाडौँ, ७ चैत । साउदी अरबियाले महिलाको रुपमा नागरिकता प्रदान गरेको सेलिब्रेटी रोबोट सोफियाले नेपालमा तहल्का मच्चाएकी छिन् । नेपाल जस्तो देशमा प्रविधिका माध्यमबाट गरिबी हटाउन सहयोग पुग्ने सुझाव दिएपछि एकाएक कार्यक्रमस्थल हेर्न लायक भएको थियो ।
आज काठमाडौँको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उनले प्रविधिको माध्यमबाटै सुशासन कायम गरि भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताईन् । कार्यक्रममा पुगेका अधिकांश मानिस सोफियाको जवाफ र उनले दिएको स्पिच सुनेर अचम्मित भएका थिए ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले काठमाडौं ल्याएको प्रश्नको जवाफ दिन सक्ने रोबोट सोफियाले सार्वजनिक सेवाका लागि प्रविधि विषयमा धारणा राखेकी थिइन् । उनको धारणा सुनेर सबै चकित भएका थिए । मानिसले जस्तै नागरिकता पाउने पहिलो रोबोटका रुपमा रहेकी सोफियालाई ४ महिनाअघि साउदी सरकारले नागरिकता दिएको थियो ।
सोफियालाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले सन् २०१५ मा निर्माण गरेको हो । हाउभाउका साथ बोल्न सक्ने र प्रश्नको जवाफ दिनसक्ने सोफियालाई साउदी सरकारले नागरिकता दिएपछि विश्वभर चर्चित र आकर्षणको केन्द्र बनेकी थिइन् ।