बाँदरले नै गर्यो मानव अधिकार हनन्

तु खबर संवाददाता
२०७४ चैत्र ७,बुधबार १९:२५

चितवन, ७ चैत । चितवनको देवघाट आश्रममा बसेकाहरुले आफुहरु बाँदरबाट पिडीत भएको भन्दै मानव अधिकार आयोगमा गुनासो गर्न पुगेका छन् । पकाएको खाना फालिदिने, लुगा च्यातिदिने, राखेको खानेकुरा खाइदिने, पिउनेपानी दूषित बनाइदिने जस्ता कार्य हुँदा बाँदरले नै मानव अधिकार हनन् गरेको उनीहरुले गुनासो गरेका हुन् ।

बाँदरले मानिसलाई आक्रमण गर्ने र टोक्ने समस्या बढ्दै जाँदा स्थानीयका साथै तीर्थालुहरू त्रसित बनेका छन् । घरमा राखिएका पानीका ट्याङ्की फुटाइदिने, झ्यालका सीसा फुटाइदिने, टिन कुच्याइदिनेलगायतका समस्याले स्थानीयहरु आजित भएका छन् । वृद्धवृद्धालाई बाँदरले पनि नटेर्ने र उनीहरूले पनि केही गर्न नसक्ने हुँदा उनीहरू सबैभन्दा बढी समस्यामा परेको गुनासो छ । बढी मात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेको स्थानीयको भनाइ छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले देवघाटमा ज्येष्ठ नागरिकलाई बाँदरले दुःख दिएको भन्ने समस्या प्रमुख रहेको बताए । धेरैजसो वृद्धवृद्धाले बाँदरको व्यवस्थापन गर्न माग गरेको समेत उनले जानकारी दिए । आयोगले गरेको कार्यक्रममा बोल्दै गाउँपालिका प्रतिनिधि र वडा अध्यक्षले बाँदर व्यवस्थापनका लागि आफूहरु प्रतिबद्ध रहेको बताएका छन् भने बाँदरलाई त्यहाँबाट लखेटेर चारकोशे झाडीमा छाडिदिने प्रतिबद्धता जनप्रतिनिधिको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*