वृद्धाश्रमको अनुगमनमा मानव अधिकार आयोग, मापदण्ड विपरित चलेको खुलासा
![](https://www.tukhabar.com/wp-content/uploads/2018/03/Old-Age-Briddha-Budheskal_Tukhabar.jpg)
चितवन, ७ चैत । राष्ट्रिय मानवअधिकार आयोगले देशभरमा रहेका वृद्धाश्रमहरुको अनुगमन थालेको छ । आयोगको टोली देशभर रहेका वृद्धआश्रमको अवस्था अनुगमनमा हिँडेको हो । टोलीले मंगलबार चितवन र तनँहुको संगमस्थल देवघाट धामबाट अनुगमन कार्यको सुरूवात गरेको छ ।
आयोगका सदस्य प्रकाश वस्तीका अनुसार देशभर रहेका १४४ वटा वृद्धआश्रमको अनुगमन गरी अर्को वर्ष सरकारलाई प्रतिवेदन दिइनेछ । मानवअधिकारको दृष्टिकोणबाट आवश्यक पूर्वशर्तहरु पालना भएनभएको बारेमा अध्ययन हुने सदस्य वस्तीले बताए । टोलीमा वस्तीसहित ४ जना सदस्य रहेका छन् ।
नेपालमा वृद्धवृद्धाहरुको अवस्था के छ, आश्रम कसरी सञ्चालन भइरहेको छ, ज्येष्ठ नागरिकको अधिकारको अवस्था के छ लगायत विषयमा अध्ययन गरिने आयोगले जनाएको छ । देवघाटमा सरकार, एनआरएनए, रोटरी र निजी प्रयासबाट आश्रम सञ्चालित भएकाले पनि पहिलो अध्ययन देवघाटबाट थालिएको वस्तीले बताए ।
प्रारम्भिक अध्ययनमा देवघाटमा कानुनले तोकेको मापदण्ड अनुसार आश्रम सञ्चालन नभएको पाइएको छ । त्यस्तै हरेक तीन–तीन महिनामा प्रमुख जिल्ला अधिकारी पुगेर जानकारी लिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको सदस्य वस्तीले बताए । वस्तीले देवघाटधाममा रहेका ज्येष्ठ नागरिकले स्वास्थ्यसम्बन्धी अधिकारबाट बञ्चित हुनुपरेको बताएका छन् ।