जनतान्त्रिक तराई मुक्ति मोर्चाका बारुद पक्राउ
रौतहट, १२ चैत । भूमिगत रुपमा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज पक्राउ परेका छन् । प्रहरीले बारुद सिंह भनिने सुरेन्द्र यादवलाई गएराति पक्राउ गरेको हो ।
ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादव माथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप समेत यादवमाथि छ ।
रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादव माथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा छन् ।